मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर १९ वडाले ४४ वटा सुचक सतप्रतिशत पुरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएकाे छ । मंगलबार हेटौंडा १९ वस्तिपुर स्थित वडा कार्यालयमा पत्रकार भेटघाट गरी वडालाई १४ मंसिरमा निकृष्ट बालश्रम मुक्त, वालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणा गरिने जनाकारी दिइएकाे हाे ।
वड़ा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक नरनाथ सुवेदीले “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ आगामी शुक्रबार १४ मंसिरमा वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने जानकारी दिए ।
पत्रकार भेटघाटमा वडा अध्यक्ष सेवेदीले पूर्ण खोपयुक्त, पूर्व साक्षर, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको १९ नम्बर वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचक पुरा भएकाे बताए । ५१ वटा सूचकहरुमध्ये ४४ वटा सूचकहरु १०० प्रतिशत, १ वटा सूचक ९८ प्रतिशत्, ३ वटा सूचक ९५ प्रतिशत र १ वटा सूचक ९० प्रतिशत, १ वटा सूचक ८५ प्रतिशत, १ वटा सूचक ८० प्रतिशतसम्म नतिजा हासिल भएकाेले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएकाे अध्यक्ष सुवेदीले जानकारी दिए ।
अधिकांश भागहरु ग्रामिणस्तरका रहेकाे वडामा घरधुरी तथ्याङ्ग संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३,३५० रहेको बताइएकाे छ । बालबालिकाकाे संख्या मध्ये १ हजार ७२७ बालक र १ हजार ६२३ बालिका रहेकाेमा ४८.४४ प्रतिशत बालिका र ५१.५५ प्रतिशत बालक रहेका अध्यक्ष सुवेदीले जानकारी दिए । वडामा सामुदायिक र संस्थागत गरी बाल विकास केन्द्र सहितका १० वटा विद्यालयहरु संचालनमा रहेकाे बताइएकाे छ ।
यसैगरी १८ वटा बालसमूह र एउटा वडा बाल सञ्जालमा ४५० जना बालबालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ४९१ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको उनले बताए । आजका बालबालिका भोलिका कर्णधार हुन् भन्ने भनाईलाई मनन् गर्दै २१ औं शताब्दीका बालबालिकालाई उक्त भनाईमाथि नै परिमार्जित गर्दै बालबालिकालाई आजैका साझेदार बनाउन सोही अनुसारका कामहरुमा सक्रिय बनाउने प्रयास रहेने उनले बताए ।
‘भोलिका कर्णाधार हुन भन्दै गर्दा हामीले उनीहरुलाई सही बाटो देखाएनौ, उचित वातावरण र असल संस्कारयुक्त शिक्षा दिन सकेनौ भने जीवन उपयोगी शिक्षा सहितको सिप सिकाईमा उनीहरुलाई सहभागी गराएनौ भने उनीहरु कसरी भोलिका कर्णाधार बन्न सक्लान? त्यसैले आजका बालबालिकालाई हामी अभिभावक, शिक्षक र जनप्रतिनिधिले उनीहरुलाई नैतिक तथा असल संस्कारयुक्त शिक्षा आर्जन गर्न सक्ने वातावरण बनाई उनीहरुलाई सामाजिक कार्यमा पनि सहभागिता गराउन जरुरी देखिन्छ’ उनले भने । ‘बालबालिकाको सवल भविष्य निर्माणमा घरपरिवारको साथै वडाको ठूलो जिम्मेवारी र दायित्व हुन्छ’ अध्यक्ष सुवेदीले भने ‘भविष्यमा वडा सञ्चालनको महत्वपूर्ण हिस्सा ओगटेको आजको बालबालिकाको क्षेत्रमा वडाले आवश्यक लगानी गर्नै पर्छ ।’
बालबालिकाको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारको विषयमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्दै गर्दा बालबालिकाले अधिकारको माग सँगै उनीहरुलाई कर्तव्यबोध पनि गराउनु समेत अभिभाकीय दायित्व भएकाे उनले बताए ।अध्यक्ष सुवेदीले १६ मंसिर २०७१ काे निर्णयबाट हेटौडा नगरपालिकालाई उपमहानगरपालिका बनाइएकाे तथा बागमती प्रदेशको राजधानी समेत रहेको उपमहानगरपालिकाको वडा १९ साविकको बसामाडी गाविसको वडा नम्बर १,२,४,६ र ७ मिलेर बनेको जानकारी दिए । ४७,०४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको वडा क्षेत्रफलको आधारमा सबै भन्दा ठूलो वडाको पूर्व सिमानामा हेटौडाकाे वडा नम्बर १ र ३, पश्चिममा मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिका, उत्तरमा कैलाश गाउँपालिका र भिमफेदी गाउँपालिका र दक्षिणमा मनहरी गाउँपालिका रहेकाे उनले बताए ।
कार्यक्रममा सहायक महिला विकास निरिक्षक मिना देवकाेटाले वडाकाे प्रगति विवरण प्रस्तुत गर्दै २०७९ साल भाद्र महिनादेखि बालबालिका सम्बन्धि कार्य गर्दै ५१ वटा सुचक पूरा गरिसकेकाेले बालमैत्री वडा घोषणा गर्न लागिएकाे जानकारी दिए । ‘बालमैत्री वडा घोषणा कार्यक्रम समारोह तथा सम्पूर्ण अभियानमा ऐक्यबद्धता जनाई दिनुहुन सम्पूर्ण वडाबासी, सरोकारवाला निकायलगायतमा वडा कार्यालय हार्दिक अपिल गर्दछौं’ वडाले प्रकाशन गरेकाे विज्ञप्तिमा उल्लेख छ । १९ वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहरु, बालसमूह संजाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह, वन समिति लगायतका विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील छन् ।
मंगलबार नै वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरेकाे छ । सार्वजनिक सुनुवाई तथा पत्रकार भेटघाट कार्यक्रम वडा अध्यक्ष नरनाथ सुवेदीकाे सभाध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा वडा सचिव दिपेन्द्र ढकाल, बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गाना, वडा सदस्य तथा स्थानीय शासनयुक्त वडा घाेषणा कार्यक्रम सम्पर्क व्यक्ति रमा गाेले महिला तथा बालबालिका शाखाका अधिकृत मन्दिरा थापालगायतकाे उपस्थिति रहेकाे थियाे ।

