मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाकाे बजार क्षेत्रमा रहेकाे राजमार्गबाट २५ मिटर सडक विस्तार विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेकाे छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने मुख्य सडक विस्तारविरुद्ध परेको ३०० भन्दा बढी रिट सर्वोच्चकाे मंगलबारकाे इजलासले खारेज गरिदिएकाे हाे । सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हेटौँडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तार विरुद्ध परेको रिट खारेज गर्ने निर्णय गरेको हो ।
न्यायाधीसद्वय सुवेदी र पाेखरेल इजलासले गत असार ३१ गतेदेखि साउन २४ सम्ममा दर्ता भएका हेटौँडा बजार क्षेत्र अन्तर्गत गर्ने राजमार्गको सडक विस्तार विरुद्धका ३०० बढी रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो ।
यसअघि गत असार १० गते सडक डिभिजन कार्यालय हेटौंडाले सडक विस्तारकाे ३५ दिने सूचना प्रकाशित गरेकाे थियाे । तर केही घरधनी र व्यवसायीहरुले क्षतिपूति माग गदै सर्वोच्चमा रिट निवेदन दिएका थिए भने आन्दाेलन समेत गरेका थिए । राजनीतिक दलहरु प्रतिनिधि र हेटौंडा उपमहानगरपालिका जनप्रतिनिधि सडक विस्तारको पक्षमा उभिएकाेमा मकवानपुर उद्योग बाणिज्य संघ भने क्षतिपूर्ति र मुआब्जा दिए मात्रै सडक विस्तार गर्न दिने पक्ष थियाे ।
रिट खारेज भएसंगै हेटौडाको मुख्य बजार क्षेत्र भएर जाने पूर्व पश्चिम राजमार्ग विस्तार गर्न बाटो खुलेकाे बताइए पनि अदालतमा परेका सवै रिट खारेज भए/नभएकाे र रिट खारेज गर्दा गरिएकाे फैसलाकाे पूर्णपाठले अन्य कुराकाे टुंगाे लाग्ने छ ।

