मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले आतङ्क फैलाउने क्रम बढेको छ । मंगलबार बिहान मनहरी ७, रमौलीमा जङ्गली हात्तीले ४ वटा घरमा क्षति पुर्याएको छ । यस अघि समेत पटक पटक मनहरी गाउँपालिकाका स्थानीयकाे घरमा हात्तीले क्षति पुर्याएकाे थियाे ।
मगलबार जङ्गली हात्तीको आक्रमणबाट स्थानीय खड्ग बहादुर थिङको काठ र टिनले बनेको भान्साकोठा, भगवती सुवेदीको घर अगाडिको काठको पाली,अर्जुन दहालको घर अगाडिको पाली भत्काई १ बोरा धानमा क्षती पुर्याएकाे र चित्र बहादुर घलानको घरको जस्ता भत्काएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
हात्ती आएर क्षति गरेको सूचना पछि स्थानीय, नेपाल प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जबाट नेपाली सेनाको टोलीले हात्तीलाई जङ्गलतर्फ लखेटेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
गत शुक्रबार मध्यरातमा जंगली हात्तीले मनहरी ७ शान्तिटोलमा तीन वटा घरमा क्षति पुर्याएको थियाे । यसैगरी हात्तीकै आक्रमणबाट पुष ७ गते शनिबार मनहरी –७ बिजौना बस्ने ५१ वर्षीया कान्छिमाया तामाङलाई आक्रमण गरी घाइते बनाएको थियो । पौष १ गते राती हात्तीले मनहरी ८ सिम्पानी स्थित टल्के चेपाङको ढुङ्गा र जस्ताले बनेको १ तले घरमा पूर्ण क्षति पुर्याएको । यसै गरि उक्त हात्तीले स्थानीय राम बहादुर तामाङको गोठमा समेत क्षति पुर्याएको थियाे ।
मनहरीमा पछिल्लो समय जङ्गली हात्तीको आतङ्क बढेसँगै मकवानपुर क्षेत्र नं. २ का सांसद महेश बर्तौला प्रभावित क्षेत्र पुगेका छन् । घर र घरमा भएको अन्नपातमासमेत क्षति पु¥याउने गरेपछि जङ्गली जनावर प्रभावित स्थानीयको समस्या सुन्न आएका बर्तौलासँग स्थानीयले राप्ती खोलामा तटबन्ध निर्माण हुनुपर्ने माग गरेका थिए । स्थानीयहरुले हात्तीबाट धनजनको क्षति हुनबाट रोक्न कङ्क्रीट पर्खाल आवश्यक भएको बताएका छन् । उक्त क्षेत्रकाे केही स्थानमा कङ्क्रीट पर्खाल निर्माण भए पनि पर्खाल नभएको स्थानबाट हात्ती बस्तीमा छिरेर क्षति पुर्याइदिने गरेको छ ।
सांसद बर्तौलाले हात्तीबाट स्थानीयले भाेगेका पीडा सुनिसके पछि भने कङ्क्रीट पर्खाल अधुरो हुँदा जङ्गली जनावरको त्रास कायमै रहेको र पुर्जाका लागि नापजाँच सुरु भए पनि निकुञ्जका कारण रोकिएकाले मध्यवर्ती क्षेत्रको कानुन संशोधन आवश्यक भएको बताए । उनका अनुसार बस्तीको सुरक्षाका लागि तटबन्ध निर्माण त्यत्तिकै आवश्यक छ । सांसद बर्तौलाले मध्यवर्तीको समस्या सम्बन्धमा संसदमा आवाज उठाउँदै आएकाे जानकारी दिए । उनले भने, “मध्यवर्तीको खारेजी वा सिमाना हेरफेर आवश्यक छ ।

