मकवानपुर । पर्वहरूले आपसी सद्भाव र एकता सुदृढ पार्ने बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनुभएको छ।
भाइटीका, नेपाल संवत् एवं छठ पर्व, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
प्रदेशका प्रमुख देवकोटाले नेपाल संवत् ११४७, भाइटीका तथा छठ पर्वको अवसरमा आज शनिबार शुभकामना सन्देश जारी गर्नुहुदै दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, ऐश्वर्य र प्रगतिको कामना गर्नुभएको हो।
उहाँको सन्देशमा भनिएको छ “हाम्रा सांस्कृतिक पर्वहरूले आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय पहिचानलाई अझ बलियो बनाएको उल्लेख छ ।”
नेपाल संवत् र राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको स्मरण गर्दै उहाँले यो संवत् हाम्रो मौलिकता र स्वाभिमानको परिचायक भएको बताउनुभएको छ।
दीपावली, म्ह पूजा र छठ पर्व जस्ता पर्वहरूले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै सकारात्मक ऊर्जा र समृद्धिको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।

मकवानपुर । कृषि क्षेत्रको उत्पादन बढाउन र किसानको जीवनस्तर उकास्न सरकारले प्रदान गर्ने अनुदान लिनै झन्झट बढी भएको गुनासो किसानले गरेका छन् ।
सरकारले उपलब्ध गराउने यस्ता कार्यक्रममा साना किसानको पहुच नै पुग्दैन । सरकारले कृषि उत्पादन र किसानको आय वृद्धि गर्ने उद्देश्यले बर्सेनि अर्बौं रुपैयाँ अनुदानमा खर्च गरे पनि त्यसको लाभ वास्तविक किसानसम्म पुग्न नसकेको अध्ययनले देखाएको हो । जग्गाको लालपुर्जा, कर चुक्ता, प्यान दर्ता, झन्झटिलो प्रशासनिक प्रक्रिया र लागत साझेदारीको अनिवार्य व्यवस्थाका कारण भूमिहीन, महिला तथा साना किसान सरकारी अनुदानबाट वञ्चित हुने गरेको अध्ययनको निष्कर्ष छ।
हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय सरोकारवाला कार्यशालामा प्रस्तुत अध्ययनअनुसार ४८ प्रतिशत उत्तरदाताले कृषि अनुदान वितरणमा राजनीतिक पहुँच र बिचौलियाको प्रभाव रहेको महसुस गरेका छन्। त्यस्तै, अनुदान पाएपछि फार्म बन्द गर्ने वा उद्देश्यअनुसार काम नगर्ने प्रवृत्ति २५ देखि ३० प्रतिशतसम्म रहेको अध्ययनमा उल्लेख छ।
मकवानपुरको मनहरी गाउँपालिकाकी विभा राईले अनुदानका लागि वडा कार्यालय पुग्दा कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न कठिन भएको अनुभव सुनाइन्। चितवनको माडीकी देवती महतोले खेती गरिरहे पनि जग्गाको लालपुर्जा नहुँदा सरकारी सुविधाबाट वञ्चित हुनुपरेको बताइन्। धादिङका किसान नवराज सुनारले पनि अनुदान वितरणमा राजनीतिक तथा प्रशासनिक पहुँचवालाको प्रभाव रहेको गुनासो गरे।
अध्ययनले ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्थाले आर्थिक रूपमा कमजोर किसानलाई अनुदानको अवसरबाटै बाहिर राखेको औँल्याएको छ।
अति विपन्न तथा भूमिहीन किसानलाई ८० देखि १०० प्रतिशत, साना किसान तथा महिला सहकारीलाई ७० देखि ८० प्रतिशत र व्यावसायिक किसानलाई ३० देखि ५० प्रतिशतसम्म लागत साझेदारीको व्यवस्था गर्न सुझाव दिइएको छ।
त्यस्तै, लालपुर्जाको विकल्पमा वडा सिफारिस, मोही कार्ड र भाडा सम्झौतालाई मान्यता दिन, स्थानीय तहमा एकल सेवा डेस्क स्थापना गर्न तथा अनुदानलाई प्राविधिक सहयोग, शीतभण्डार र बजार व्यवस्थापनसँग जोड्न अध्ययनले सिफारिस गरेको छ।
‘नेपाल कृषि आजीविका र हरित रोजगारीसम्बन्धी अनुदान तथा सब्सिडी कार्यक्रम, नीतिगत व्यवस्था, कार्यान्वयन अवस्था र बहुस्तरीय सरकारको भूमिका’ विषयक अध्ययनको निष्कर्ष कृष्णप्रसाद पौडेलले प्रस्तुत गरेका थिए।
मकवानपुर महिला उत्थान समाज, नेपाल महिला एकता समाज, फरेस्ट एक्सन नेपाल, चितवन सक्रिय महिला फाउन्डेसन र विकास अभियानको संयुक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता एक्सनएडकी व्यवसाय विकास प्रबन्धक रेनु श्रेष्ठले गरेकी थिइन्। मकवानपुर महिला उत्थान समाजकी संयोजक निशा लामाले सञ्चालन गरेको कार्यक्रममा प्रदेश सरकारका मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, कृषि प्राविधिक तथा विभिन्न पालिकाका किसानको सहभागिता थियो।
अध्ययनले कृषि अनुदानको सफलता बजेट खर्चको अंकले नभई वास्तविक किसानको उत्पादन, आम्दानी र जीवनस्तरमा आएको परिवर्तनबाट मापन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
मकवानपुर । चैनपुर जेसीज मनहरीको आयोजनामा सुरु भएको जेसीज कप खुला फुटबल प्रतियोगितामा मनहरी ४ ले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा लामिटार एफसी मनहरी ३ लाई २-० ले हराउँदै मनहरी ४ नम्बर वडाले विजय सुरुवात गरेको हो । मनहरी ४ को जितमा दर्शन अधिकारीले २ गोल गरे । खेलको म्यान अफ द म्याच अधिकारी नै घोषित भए ।
प्रतियोगिता अन्तरगत आइतबार (आज) खरंगा एफसी र मनहरी ५ नम्बर वडा बीच खेल हुनेछ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले गरेका हुन् । उनले खेल क्षेत्रको विकासमा सबै क्षेत्रसँग सहकार्य एवम् हातेमालो गर्न तयार रहेको बताए ।
प्रतियोगिता संयोजक नवराज रिजालको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष सुरेश गौतमको अध्यक्षता भएको कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, सानाकिसान कृषि सहकारीका अध्यक्ष गीता प्रजा लगायतले जेसीजसँगको सहकार्यले खुसी लागेको बताए । उनीहरुले आगामी दिनमा पनि सहकार्यलाई जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
प्रतियोगितामा चितवन जिल्लाको एक र मकवानपुरका ११ गरी १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशिल युवाहरुको संस्था चैनपुर जेसीजले स्थापनाकालदेखी नै जेसीज कप खुला फुटबलको आयोजना गर्दै आएको छ ।
जंगलमा भेटिएको शवको पहिचान २ महिनापछि खुल्यो
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा स्थित एक सामुदायिक वनमा बोरा हालेर खाल्टोमा फालिएको शवको पहिचान २ महिनापछि खुलेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिक सामुदायिक वनमा गत साउन २२ गते भेटिएको महिलाको शव करिब दुई महिनापछि पहिचान खुलेको हो। शव डीएनए परीक्षणपछि भारतकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुनको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मृतक खातुन भारतको बेतिया बैरिया थाना सरैया भटवलिया–६ निवासी विवाहित महिला हुन्। उनी गत वैशाख ९ गते ६ महिनाकी छोरीसहित श्रीमानको घरबाट दाँतको उपचारका लागि भन्दै निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। मृतकको पहिचान उनका कपडा, गहनालगायतका आधारमा खोजी गर्ने क्रममा भारतको प्रहरीसँगको समन्वयमा खुलेको मकवानपुर प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–३, बेलचोक, नौघरे, गणेशमार्गमा कोठा भाडामा लिएर बस्दै आएका २७ वर्षीय राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारसँग उनी बस्दै आएको समेत खुलेको मकवानपुर प्रहरीले जनाएको छ । अनुसन्धानबाट रुची खातुनको हत्या भएको र घटनामा राहुल कुमार गुप्ताको संलग्नता रहेको खुलेको हो ।
मृतककी आमा फातमा खातुनले भदौ ४ गते राहुलविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी थिइन् । डीएनए परीक्षणमा मृतकको डीएनए उनकी आमाको नमुनासँग मेल खाएपछि असोज १६ गते शुक्रबार फातमाले शव बुझेर लगेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भनिएका राहुलविरुद्ध भारतको नगर थाना बेतियामा समेत मुद्दा दर्ता भएको र उनी हाल भारतको कारागार कार्यालय बेतियामा थुनामा रहेको प्रहरीले जनाएको छ।
भरतपुर (चितवन) । सम्पूर्ण किताब नारायणगढले स्थापनाको नवौं वार्षिकोत्सव मनाएको छ । सम्पूर्ण किताबले स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत एक जना छात्रालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
कालिका नगरपालिका–३, पदमपुरस्थित राष्ट्रिय जनहित माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत प्रमिका दोङलाई शैक्षिक सामग्रीसहित नगद सहयोग गरेको हो । उनलाई नयाँ लुगा, कापी, कलम, क्यालकुलेटर, ज्यामिती बक्स, स्याम्पु, रिबन, साबुन, नेलकटर, बालकथाहरू, मञ्जन, ब्रस, सेनेटरी प्याडलगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।
विद्यालयकी प्रधानाध्यापक कमला पाण्डेसहित चितवन र नवलपरासीका साहित्यिक, शैक्षिक तथा सामाजिक व्यक्तित्वको उपस्थितिमा विद्यार्थी दोङलाई सामग्री हस्तान्तरण गरिएको हो । सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाका अनुसार वि.सं. २०७५ भदौ २३ गते स्थापना भएदेखि नै संस्थाले हरेक स्थापना दिवसका अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत एक जना छात्रालाई शैक्षिक सामग्री सहयोग गर्दै आएको छ । शैक्षिक सामग्री जुटाउनसमेत कठिनाइ हुने विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग गर्ने गरिएको उनले बताए ।
‘स्थापनाकालदेखि नै स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आएका छौँ,’ सञ्चालक सापकोटाले भने, ‘आर्थिक अभावका कारण पढाइमा समस्या भोगिरहेका विद्यार्थीलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले हरेक वर्ष एक जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै आएका छौँ ।’
विद्यालयकी प्रधानाध्यापक कमला पाण्डेले राष्ट्रिय जनहित माध्यमिक विद्यालयलाई सहयोगका लागि छनोट गर्नु सकारात्मक पक्ष भएको बताइन् । सुकुम्बासी बस्तीमा रहेको विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीका अभिभावकको आर्थिक अवस्था कमजोर रहेको उनले जानकारी दिइन् ।
‘हाम्रो विद्यालय अहिलेसम्म पूर्जाविहीन जमिनमा बसिरहेको छ । यहाँका अभिभावक सबैको आर्थिक अवस्था कमजोर छ,’ उनले भनिन्, ‘वडाध्यक्ष शैक्षिक व्यक्तित्व भएकाले हरेक वर्ष वडाबाट थोरै–थोरै बजेट उपलब्ध हुँदा विद्यालय सञ्चालनमा केही सहज भएको छ ।’
उनका अनुसार आर्थिक रूपमा कमजोर परिवारका ५३० जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । यस्तो अवस्थामा बाह्य क्षेत्रबाट प्राप्त हुने सहयोगले विद्यार्थीको अध्ययनमा समेत सकारात्मक प्रभाव पार्ने उनले बताइन् ।
स्थापना दिवसलाई केवल औपचारिक उत्सवमा सीमित नगरी सामाजिक सेवासँग जोड्दै आएको सम्पूर्ण किताबले यस वर्ष पनि विगतको परम्परालाई निरन्तरता दिएको हो ।
कार्यक्रममा पूर्वशिक्षक एवं साहित्यानुरागी पोषराज पौडेल, अध्येता एवं समीक्षक उदय अधिकारी, लेखक एवं नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली, शिक्षासेवी भूपेन्द्र धिताल, समाजसेवी नेत्रप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो ।