मकवानपुर । चैनपुर जेसीज मनहरीको आयोजनामा सुरु भएको जेसीज कप खुला फुटबल प्रतियोगितामा मनहरी ४ ले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा लामिटार एफसी मनहरी ३ लाई २-० ले हराउँदै मनहरी ४ नम्बर वडाले विजय सुरुवात गरेको हो । मनहरी ४ को जितमा दर्शन अधिकारीले २ गोल गरे । खेलको म्यान अफ द म्याच अधिकारी नै घोषित भए ।
प्रतियोगिता अन्तरगत आइतबार (आज) खरंगा एफसी र मनहरी ५ नम्बर वडा बीच खेल हुनेछ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले गरेका हुन् । उनले खेल क्षेत्रको विकासमा सबै क्षेत्रसँग सहकार्य एवम् हातेमालो गर्न तयार रहेको बताए ।
प्रतियोगिता संयोजक नवराज रिजालको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष सुरेश गौतमको अध्यक्षता भएको कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, सानाकिसान कृषि सहकारीका अध्यक्ष गीता प्रजा लगायतले जेसीजसँगको सहकार्यले खुसी लागेको बताए । उनीहरुले आगामी दिनमा पनि सहकार्यलाई जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
प्रतियोगितामा चितवन जिल्लाको एक र मकवानपुरका ११ गरी १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशिल युवाहरुको संस्था चैनपुर जेसीजले स्थापनाकालदेखी नै जेसीज कप खुला फुटबलको आयोजना गर्दै आएको छ ।

