मकवानपुर । मकवानपुरकाे हेटौंडामा माेटरसाइकलले ठक्कर दिदा पीटी दौडमा सहभागी प्रहरी जवानको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११, थानाभर्याङमा नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–६ स्थायी घर भई हाल प्रदेश प्रहरी कार्यालयमा कार्यरत एडीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका एडीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकाेमा बुधबार बिहान नै चिकित्सकले मृत घोषणा गरेकाे मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरी जवानलाई ठक्कर दिने मोटरसाइकल चालक हेटौँडा–४, हुप्रचौरका ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् । लामाकाे टाउको र हातमा चोट लागेकाेमा हेटौंडा अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकाे छ । मोटरसाइकलको ठक्करबाट पीटी दौडमा सहभागी प्रहरी जवान नवराज सार्की र विजय खत्री पनि सामान्य घाइते भएका छन् । उनीहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

