मकवानपुर । हेटौंडा बजार क्षेत्रको सडक विस्तार नरोकिने डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ । गत असार १० गते प्रकाशित सूचना अनुसार नै ३५ दिनपछी सडक सीमाभित्रका संरचना हटाउन सुरु गर्ने कार्यालयले जनाएकाे छ ।
हेटौंडाका केही घरधनीको हकमा भने सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । विजयलाल जोशीले पेस गरेको रिट निवेदन माथि बहस गर्दै सोमबार सर्वोच्च अदालतले उक्त अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सडक कार्यालयले आदेश भएका घरको हकमा अदालतकै आदेशानुसार गर्ने तर अन्य स्थानको सडक विस्तारको काम भने नरोकिने प्रष्ट पारेको छ ।
डिभिजन सडक कार्यालय हेटौंडाले गत असार १० गते महेन्द्र राजमार्गको हेटौंडा स्थित रातोमाटे-बुद्धचोक, राप्तीपुलसम्मको सडक सीमा सड़क केन्द्रबाट २५/२५ गजभित्र पर्ने संरचना हटाउन भन्दै सूचना प्रकाशित गरेको थियो । सडक कार्यालयको सूचनामा तोकेको मिति साउन १५ गते सकिदै छ । ३५ दिनको समयसीमा सकिएलगत्तै हेटौंडाको मुख्य बजार विस्तार कार्य सुरु गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।
यसअघि हेटौंडाबजार भत्काउन सुरु गरेपछी यहाँका केहि घरधनीले अदालतमा रिट दायर गरेपछी अदालतले स्टे अर्डर दिएको थियो। २५ मिटर सडक विस्तारकै मुद्धामा सर्वोच्च अदालतले २५/२५ गज भत्काउन मिल्ने र त्यस भन्दा बढी भत्काउन परे क्षतिपुर्ति दिनुपर्ने भनि उत्प्रेषण आदेश दिएको थियो ।
अदालतकै आदेशलाई टेकेर सडक कार्यालयले २५/२५ गज भत्काउने तयारी गरेको छ ।

सडक बिस्तार हुनु पर्ने मागसहित बाबु छोरा अनशनमा
हेटौंडाको सडक विस्तार हुनै पर्ने भन्दै बाबु छोरा अनशनमा बसेका छन । सम्बन्धित पक्षले सडक फराकिलो बनाउने सबालमा खुट्टा कमाउन नहुने भन्दै ७३ बर्षीय बाबू र उनका ३४ बर्षीय छोरा सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बसेका छन् ।
हेटौंडा उपमहानरपालिका-८ कमानेका ३४ बर्षीय राजिव तामाङ र उनका पिता ७३ बर्षीय मानबहादुर तामाङ अब कुनैपनि बहानमा सडक विस्तारको काम रोक्न नहुने भन्दै कार्यलयको गेटमा अनसन बसेका हुन् । उनीहरुले सडक विस्तार देशकै विकाससंग जोडिएकोले रोक्न नहुने भन्दै गत साउन १ गतेदेखि अनसन बसेका हुन ।
सरकारले कमभन्दा कम क्षति हुनेगरि सडक विस्तारको उपाय खोज्नुपर्ने राजिव बताउँछन । मानबहादुरले भने समग्र हेटौंडाको विकासमा बर्षौदेखिको अन्यौलताले निकास पाएको हेर्न चाहेको बताए ।
डिभिजन सडक कार्यालय हेटौंडाले असार १० गते महेन्द्र राजमार्गको हेटौंडा–१५ रातोमाटेबाट-बुद्धचोक हुदै राप्तीपुलसम्मको सडक सीमा सड़क केन्द्रबाट २५/२५ गजभित्र पर्ने संरचना हटाउन सूचना प्रकाशित गरेको थियो । सडक कार्यालयको ३५ दिने सुचनाको म्याद साउन १५ गते सकिदैछ । सूचनाको अबधिमा रातोमाटे क्षेत्रमा संरचनाहरू भत्काउने काम भएका छन ।