मकवानपुर । मकवानपुरको हेटौंडा बजार क्षत्रमा राजमार्ग विस्तारको लागि भोलीबाट डोजर चलाइने भनिए पनि तत्कालको लागि यो कार्य रोकिएको छ ।
पीडितहरुले अदालतमा रिट गरेपछि सर्वोच्चले अन्तिम टुङ्गो नदिएको कारण तत्काललाई रोकिएको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ ।
डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादबले भोलीलाई घर नभत्काउने जानकारी दिए । सर्बोच्च अदालतले दुइ वटा घर मात्र तत्काल नभत्काउनु भनेर आदेश दिएकाले अरु राजमार्गका सबै घरहरु भत्काउने डिभिजन कार्यालयले बताउँदै आएको थियो । अन्तिम अवस्थामा आएका डिभिजन कार्यालय नै पछि हटेको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडाको राप्तीपुलदेखि रातोमाटेसम्मको सडक विस्तार तत्काललाई रोकिने भएको हो । यहाँका घरधनीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका कारण आफूहरु बाध्य भएर सडक विस्तार गर्न नसक्ने अवस्थामा पुगेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख यादबका अनुसार सर्वोच्च अदालतले हेटौंडाको घरधनीको नाममा अन्तरिम आदेश दिएको र मंगलबार छलफलका लागि बोलाएका कारण सडक विस्तार गर्ने कार्य अहिलेलाई रोकिएको हो । महान्याधिवक्ताको कार्यालयसँग परामर्श भइरहेको र त्यसपछि मात्रै कार्य अघि बढाइने यादबले बताए ।