मकवानपुर । सडक डिभिजन कार्यालयले हेटौडा उपमनहागर क्षेत्रमा पर्ने राजमार्ग क्षेत्रकाे २५ गज क्षेत्र भित्र पर्ने घरटहरा भत्काउन सूचना निकालेकाे समय सकिनै लाग्दा हेटौडामा प्रदर्शन भएकाे छ । हेटौंडाको मुख्य बजार क्षेत्र भएर जाने पूर्व पश्चिम राजमार्गबाट दायाँबायाँ २५ गज भित्र पर्ने घरटहर मुआब्जा बिना भत्काउन नहुने भन्दै व्यावसायी र घरधनीले शनिबार हेटौँडामा बिरोध प्रदर्शन गरेका हुन् ।
मकवानपुर उद्योग बाणिज्य संघ र हेटौंडा बसोबास संरक्षण समितिको आयोजनामा शनिबार दिउँसो हेटौँडाकाे बुद्धचाेकमा भेला भएर विरोध प्रदर्शन गरिएकाे थियाे । विरोध प्रर्दशनमा सहभागीले बिना मुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् ।
डिभिजन सडक कार्यालयले केही दिन अघि क्षेत्राधिकार भित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालय र जनजागृती माविको पर्खाल र त्यहाँ बनेको संरचना भत्काइसकेको छ । सूचनाकाे म्याद सकिए पछि अन्य स्थानमा समेत सडक विस्तार गरिने कार्यालयले बताउँदै आएकाे छ । गत असार १० गते कार्यालयले पूर्व पश्चिम राजमार्गकाे हेटौडा १५ राताेमाटेदेखि हेटौडा १० राप्तिपुल क्षेत्रसम्मकाे सडक दायाँबायाँ २५/२५ गज भत्काउने गरी सूचना जारी गरेकाे थियाे ।