मकवानपुर । मकवानपुर जिल्लामा रहेका राजनीतिक दलहरुले हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्न ऐक्यबद्धता जनाएका छन् । पूर्वपश्चिम राजमार्गअन्तरगत हेटौडा बजार क्षेत्रमा पर्ने सडक २५ मिटर विस्तार गर्ने विषयमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख सहमत भएका हुन् ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडामा जिल्ला क्रियाशील राजनीतिक दलका प्रमुखवीच आयोजित छलफलमा सडक डिभिजन कार्यालय हेटौंडाले जारी गरेको सूचनामा ऐक्यबद्धता जनाउँदै सडक विस्तार गर्ने विषयमा सम्बन्धित सवै निकाय अनुरोध समेत गरेको छ ।
‘सडक विस्तार गर्दा सम्मानित सर्वोच्च अदालतको फैसला अनुसार घरधनीहरुको हकमा उचित मुआब्जा तथा क्षतिपूर्ति एवम् व्यवसायीलाई उचित व्यवस्थापनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय दलहरुले गरेका छन् ।
नेपाली कांग्रेस नगरसभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको छलफलमा नेकपा एमाले जिल्ला अध्यक्ष एवम् प्रदेश सदस्य एकालाल श्रेष्ठ, कांग्रेस जिल्ला सभापति बुद्ध लामा, जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलान तथा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

