- मन्दिरा चापागाईं
अचानक भास्कर गाउँ आएको देखेर दङ्ग भए भगिरथ बाजे । टुकुटुकु हिड्ने थिईस् शहर जाँदा । नातीको टाउको सुम्सुम्याउँदै भने बाजेले ।
अर्गानिक खानपिनको स्वादमा पल्किदै गयो ऊ । उकालोओरालो गर्दा गर्दै प्याट्ट लागेको पेट र भद्दा शरीर साईजमा आयो । धान गहुँबाली देखेपछि चामल र पीठोका कच्चापदार्थ चिन्यो उसले ।
“चिउराको बोट खै त ?”भन्दा पेट मिचिमिची हाँसेका थिए उसका साथीसङ्गी ।
चराको चिरबिर हावाको शीतलता झरीको झंकार र लहलह बाली देख्दा कोठाभित्र गुम्सिएको मन प्रफूल्लित भयो । ताजा सागसब्जी फलफूल सहयोगी र मिजासिला मानिसहरू देखेर छक्क पर्यो भनें बाँझा जमिन रित्ता घरहरू देख्दा दुखि पनि ।
“यहि माटोको तागत पिएका बलिस्ठ पाखुरी बिश्व बजारमा बिक्री भए । पैसा नै सबथोक हो भनेर बल बैंस विवेक बिदेशी भूमीमा खर्चिए युवाहरूले । हाम्रा कर्मशील पाखुराहरुले बिदेशी मरुभूमिलाई उद्धान बनाए हाम्रा उद्घान मरुभूमि बन्दैछन् । मलिला जमिनमा बिद्युतका पोल कालोपत्रे सडक फले। रेडियोले वैदेशिक रोजगारीको सुबर्ण अवशर ….आकर्षक घडेरी बिक्रीमा बजायो । खेतबारी बाझैं राखि झोलामा खानेकुरा बोकि ल्याउँने संस्कृति भित्रियो । अहिले गाउँघरमा अन्न भन्दा पनि खेतीयोग्य जमिन कोतेरेर विकास फलेको छ ।”बाजे भन्दै गए । उसले चाख मानेर सुनिरह्यो ।
माटोमै छ जीवनको सार्थकता ।” जब आफ्नै भूमिमा पसिना पोखिन्छ त्यो पसिना माटोको गन्धमा मिसिएर सुगन्धित हुन्छ । पाखुरीहरु कुटोकोदालो सहित खेतबारीमा पौठेजोरी खेल्छन् बालीहरु लहलहाउछन् ।”यी जमीनले अन्न नदिए प्रयोगशालाबाट निकाल्न सकिन्न । कि डाउनलोड गर्दा हुन्छ ? ” भास्कर मुसुस्क हाँस्यो । खाद्यान्न आयात गर्नु नपरे मात्र पनि हाम्रो स्वभिमान उँचो हुनेथियो ।
यतिकैमा जिल्ला कृषि बिकास कार्यालयका कर्मचारीले भगिरथ बाजेलाई निमन्त्रणा पत्र थमाएर गए । गाउँ समूदायमा कृषि सम्बन्धी जनचेतना जगाएको र बृद्धावस्थामा नमूना कृषक बनेर योगदान दिएको सम्मानमा बाजेलाई नगद पुरस्कार दोसल्ला प्रमाणपत्र सहित सम्मानित गरियो ।
सबै नियालीरहेको भास्करले “आजसम्म मलाई कसैले कृषक हुनु किन भनेनन् बा ? किन डाक्टर पाईलट र ईन्जिनियर हुनु भने ? किताबमा पनि डाक्टर इन्जिनियर पाईलटका सुकिला मुकिला फोटा र किसानका झुत्रेझाम्म्रे फोटा मात्रै राखिन्छ । हजुरले जस्तै पुरस्कार पाएको फोटो किन नराखिएको बा किन ?” भन्दै सोध्यो ।
सभापोखरी -१, संखुवासभा

