मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध नाईट्रोभेट र गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । लागुऔषध नाईट्रोभेटसहित २ र गाँजासहित १ जनालाई मकवानपुरको दुई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लागुऔषध नाईट्राभेटसहित पक्राउ पर्नेमा देवघाट गाउँपालिका ४ बस्ने २१ वर्षका सरोज भुजेल र धुलिखेल नगरपालिका ९ बस्ने २३ बर्षिय जग बहादुर तामाङ रहेका छन् । यसैगरी लागु औषध गाँजासहित पक्राउ पर्नेमा राक्सिराङ गाँउपालिका १ स्थायी ठेगाना भई बकैया गाउँपालिका ५ कर्मचुली बस्ने फुलमाया भुलुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
जेठ २८ गते ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका ६ स्थित सडकमा बिरगंजबाट काठमाडौं जाँदै गरेको ना १ ज ३५५३ नं. को यात्रुबाहक सुमो चेकजाँच गर्दा सुमोमा सवार भुजेल र तामाङको साथबाट लागु औषध नाईट्राभेट ५ सय ३८ ट्याबलेट फेला परेको थियो । भुजेल र तामाङलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको घिमिरेले बताए ।
यसैगरी जेठ २८ गते विशेष सूचनाको आधारमा प्रहरी चौकी हात्तीसुडे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भुलुनको घरमा चेकजाँच गर्दा घर भित्र लुकाई छिपाई राखेको अबस्थामा लागु औषध गाँजा १ किलो ४ सय ग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ । भुलुनलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

