मकवानपुर । वर्षौदेखि सुकुम्बासीको रुपमा मकवानपुरको मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रामा बसोबास गर्दै आएका लोपोन्मुख वनकरीयाहरु मन्त्रीकाे आश्वासन पाएर ढुक्कले गृह जिल्ला फर्केका छन् । जग्गाको माग गर्दै मन्त्री गुहार्न सिंहदरबार पुगेका उनीहरु मन्त्री शशी श्रेष्ठकाे आश्वासनपछि ढुक्क भएकाे सन्तमाया वनकरीयाले बताइन् ।
सरकारले भूमीहिनलाई जग्गा वितरण गरिरहदा आफूहरुले पनि जग्गा पाउनु पर्ने माग गर्दै वनकरीया समूदायका प्रतिनिधि वडा अध्यक्षको साथ लागेर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय काठमाडौं सिंहदरबार पुगेका हुन् । उनीहरुले मन्त्री शशी श्रेष्ठलाई भेटेर आफूहरुको गुनासो सुनाएका छन् । “धेरै कुरा हाम्रै वडाबाट हुने रहेछ, तै पनि हामीले मन्त्री भेटेर फर्कियौं, उहाँले हाम्रो कुरा राम्ररी सुन्नु भयो” समुदायकी अगुवा सन्तमाया वनकरीयाले भनिन् ।
यस वडामा रहेका वनकरीयालाई सामुहिक पूर्जा उपलब्ध गराउनु पर्ने मागमा आफूले समन्वय गरेको मकवानपुर मनहरी गाउँपालिका वडा ४ का अध्यक्ष प्रकाश थापाले बताए । सामुहिक जग्गाधनी पूर्जा भनेको विक्री वितरण गर्न नपाइने तर आफ्नो स्वामित्वमा रहने गरी जग्गा प्रदान गर्नु हो । यसै अनुसार जग्गा उपलब्ध गराउन वडा कार्यालयले पनि माग गरेको अध्यक्ष थापाले बताए ।

पर्सा वन्यजन्तु आरक्षको संरक्षित क्षेत्र भएको आरक्ष पीडित रहेको उनीहरुले आफ्नो स्थायी बसोबासको लागि वर्षौदेखि जग्गा माग गर्दै आएका छन् । आरक्ष २०४२ सालमा स्थापना भएको र आपूmहरु त्यस अघिबाटै यहाँ बसोबास गर्दै आएकोले वनकरीलाई उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । वनकरीयाहरु यस स्थानमा २०१८ सालदेखि बस्दै आएको वडा अध्यक्ष थापाले बताए । “वनकरीयाहरु यहाँको आदिवासी हुन, २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको र यही बसोबास गरेकै स्थानमा सामुहिक लालपूर्जा माग्न गएका हौं” थापाले भने ।
७ जना वनकरीलाई साथ लिएर मन्त्रालय पुगेका वडाध्यक्ष थापाले मन्त्री शशी श्रेष्ठसँग भेटेर पर्सा वन्यजन्तु आरक्षको समस्या समेत बिसाएका छन् । वनकरिया समूदायलाई नियमसंगत लालपुर्जा वितरण गर्न थापाले मन्त्री श्रेष्ठ समक्ष माग राखेका थिए । भेटमा मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई नै लालपुर्जा वितरण गर्ने अधिकार प्राप्त भइसकेकोले त्यहीँ पहल गर्न सुझाव दिएकी थिइन् ।
तर, राष्ट्रिय निकुञ्जको बफर जोनमा बस्दै आएका वनकरिया समूदायलाई निकुञ्जले समस्या पारेको जानकारी दिँदै थापाले मन्त्री स्तरबाटै यसको समाधान गराउन आग्रह गरे । मन्त्री श्रेष्ठले स्थानीय स्तरबाट लालपुर्जा उपलब्ध गराउन समस्या भए मन्त्री स्तरबाटै समस्याको गाँठो फुकाउने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष थापाले बताए ।
मन्त्रीको आश्वासनले विश्वस्त थापासहितको टोली केही समयभित्रै वनकरिया समुदायले सामुहिक लालपुर्जा पाउनेमा ढुक्क भएर फर्किएका छन् । अध्यक्ष थापाले कार्यकाल सुरु भएको केही दिनमै लालपुर्जाको पहल गरेको भन्दै वनकरीया समुदायकी अगुवा सन्तमायाले खुसी व्यक्त गरिन् । चुनावी अभियानको क्रममा आफुले लालपुर्जाको लागि पहल गर्ने वचन दिएको र कुनै पनि हालतमा वनकरिया समुदायलाई लालपुर्जा उपलब्ध गराउन आफु निरन्तर लाग्ने थापाले बताए । उनीहरु २७ जेठमा मन्त्री भेटेर फर्किएका छन् ।
यसक्षेत्रमा १९ घर वनकरीयाको बसोबास रहदै आएको छ । आर्थिक रुपमा विपन्न उनीहरु पर्सा वन्यजन्तु आरक्ष भित्र निहुरो खोजेर बेच्ने तथा ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन् । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले जीविका चलाउन केही सहयोग भए पनि यो समूदायमा स्वास्थ्य, शिक्षालागयत आधारभूत आवश्यकता पुरिपुर्ति हुन नसकेको सन्तोषी वनकरीयाले बताइन् ।

