सरस्वती पौडेल
किन हो अचेल मलाई मन,मन जस्तो लाग्दैन ।
बाच्न त बाचिरहेछ जीवन,जीवन जस्तो लाग्दैन ।
हिजो पेट भोको हुँदा मुखकै गाँस खोस्ने हरुले,
आज गरेको सम्बोधन , सम्बोधन जस्तो लाग्दैन ।
पिठ्युँ पछाडी सधैं खुट्टा तानिरहने उनीहरु नै हुन्,
अगाडी गरेको यो समर्थन ,समर्थन जस्तो लाग्दैन ।
स्वर्ग जस्तो घर त बाबा आमा हुँदा मात्रै हुने रहेछ,
रित्तो भएपछिको घर आगन,आगन जस्तो लाग्दैन ।
यो मन ,जलाइ रहदा यो समयले हर क्षण यसै गरि,
त्यो समाधी माथी को ज्वलन,ज्वलन जस्तो लाग्दैन ।
लुकाई रहन्छन पर्दा भित्र रहस्यमय दृश्यहरु सधैं
पर्दा बाहिर को झुटो मञ्चन,मञ्चन जस्तो लाग्दैन।
भरतपुर चितवन

