मकवानपुर । पन्ध्रौं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यन्त्री राजेन्द्र पाण्डेले शुभकामना व्यक्त गरेका छन् । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीता सहितको संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै शर्मा र पाण्डेले यसतर्फ लागि पर्न सबैलाई शुभकामना दिएका छन् ।
प्रदेश प्रमुख शर्माले लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र नबनाई मुलुकमा सुशासन, विकास एवं समृद्दिको आधार समेत तयार गरिदिएको उल्लेख गरेका छन् । नेपाली जनताका प्रतिनिधिमार्फत २०६५, जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको दिनको स्मरणमा जारी गरिएको शुभकामना सन्देशमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात अमर शहीदहरूप्रति श्रद्दासुमन अर्पण गर्दै बेपत्ता, घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दै शर्माद्वारा जारी सन्देशमा भनिएको छ “ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को जगमा शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई जनताको प्रतिनिधि जनता आफैंले छनौट गर्न पाउने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको पन्ध्रौ वर्षमा प्रवेश गरिरहँदा संविधानसभामार्फत संविधान निर्माण गरी जनताका हक अधिकारहरु सुनिश्चित गरिसकिएको छ । ’
यस्तै, सन्देशमा सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणालीको संस्थागत विकास भएको पनि उल्लेख छ । उनले भनेका छन् “यो हामी नेपालीका लागि सुखद् र अत्यन्त गौरवको विषय हो । लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र बनाएको छैन, मुलुकमा सुशासन, विकास एवं समृद्दिको आधार समेत तयार गरिदिएको छ ।”
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शहिदहरुको सपना साकार गर्न सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक रहेको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै उनले लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि पटक–पटक भएका आन्दोलन तथा विभिन्न आरोह–अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज चौध वर्ष पूरा भएको बताएका छन् ।
गणतन्त्र स्थापना पश्चात भर्खरै सम्पन्न स्थानीय तहको दोश्रो निर्वाचन सफलतापूर्वक सम्पन्न भई सकेको अवस्थामा सम्पन्न स्थानीय तहको निर्वाचनले संघीय गणतन्त्रको आधारभूत तहलाई मजबुत र संस्थागत गर्न मद्दत पुर्याएको मुख्यमन्त्री पाण्डेले बताएका छन् । उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।
राज्य सञ्चालनका सन्दर्भमा आम नेपालीको अपेक्षा तथा वीर अमर शहिदका सपना साकार पार्नु तीनै तहको सरकार सहित हामी सबैको सामुहिक दायित्व र कर्तव्यको रुपमा ग्रहण गर्न आवश्यक रहेको उनले सन्देशमा उल्लेख गरेका छ । लामो संघर्ष पश्चात संविधान सभाबाट जारी भएको संघिय¸ लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा¸ समावेशी लोकतन्त्रको रक्षाका लागि अझै पनि संगठित हुदैँ संविधान विरोधी¸ लोकतन्त्र विरोधी तत्वहरुलाई टाउको उठाउन नसक्ने बनाउन अरु बढि चनाखो हुन जरुरी रहेको पाण्डेले बताए । संघर्षबाट प्राप्त उपलब्धीको रक्षाका लागि अझै निरन्तर लागि रहन आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।

