मकवानपुर । संघीय सरकारले आज अपरान्ह ४ बजे बजेट सार्वजनिक गर्दैछ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक बर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिने भएको हो । नेपाल सरकारले जेठ १५ गते बजेट सार्बजनिक गर्नु पर्ने संवैधानिक ब्यबस्था रहेको छ ।
यस्तै प्रतिनिधिसभाको शनिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन ।
नीति तथा कार्यक्रम सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिएका थिए । त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
गठबन्धन सरकारका तर्फबाट आर्थिक विकास, कृषि, पर्यटन, उद्योग, ऊर्जा लगायतका क्षेत्रको विकासलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । राष्ट्रियसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।
सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा अर्थतन्त्रमा बाह्य चाप परिरहेको सन्दर्भमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । यसै वर्ष सङ्घीय संसद् सदस्यको निर्वाचन तथा प्रदेशसभाको निर्वाचनसमेत सम्पन्न गर्नुपर्ने सन्दर्भमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
त्यसअघि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । सो बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
त्यसपछी प्रतिनिधिसभाको बैठक आइतबार साँझ ६ बजे बस्नेछ । उक्त बैठकमा सरकारले ल्याएको बजेटमा छलफल हुने तथा पारित गरिने छ ।
In: अर्थतन्त्र, मुख्य खबर, राष्ट्रिय
Tags: No Comments

