- संप्रस पाैडेल
हल्लाखोर संवाददाता ।
नेपालमा एमसिसीको घिन्ताङघिसी निकै घम्साघसीमा पुगेको छ । यही बेला विज्ञान र गणितका अनेक सूत्र प्रयोग गरी हाम्रा संवाददाताले विशेष सूत्रबाट थुप्रै रहस्यहरू पत्ता लगाएका छन् । जसका लागि युट्युबे ज्योतिष र टिकटके स्टन्डबाज व्यूरोहरूले अहोरात्र समय दिनुपरेको थियो ।
स्वघोषित विद्वान राजनेता, सर्वोच्च नेता, आन्दोलन अधिकार समितिका महानायकहरू श्री घुएँत्रो आहाल, ढुंगामुढा लेपाल, लाठी लेउवा आदिका प्रवक्ता, वक्ताले खोक्ता, ठोक्ता प्राप्त शङकाका आधारमा प्राप्त प्रारम्भिक केही तथ्यहरू यस प्रकार रहेका छन्:
- नेपालमा जाइकाले बनाएको स्कुलका बिल्डिङमा चाँडै नै जापान सरकारले जापानी सेना राख्दैछ ।
- डानिडाको सहयोग पाएको स्कूलमा डेनमार्कले यथाशीघ्र स्थानीय सरकार गठन गर्दैछ ।
- निकट भविष्यमा शैक्षिक गतिविधीमा गरेक सहयोग अझै बढाउँदै युएसएआइडीले रोक लगाएर वडा कार्यालय गठन गर्नेछ ।
- समाचार व्यूरोको न्यूरो सर्जनअनुसार उनीहरू नेपाल बसेर हामीलाई अमेरिका, डेनमार्क, बेलायत खेद्नेछन् ।
- अन्तराष्ट्रियस्तरमा हाम्रो आन्दोलन पुग्नेछ । युएनका महासचिव हामीमाझ अन्दोलन फिर्ताको माग गर्नेछन् । हामी पश्चिमका बिर्ता पूर्वतिर फिर्ता गर्दै किर्था झैँ झ्याउँझ्याउँ कराउनछौँ ।
- हामी हाम्रो सार्वभौमसत्ताको नारा न्यूयोर्कको माइतीघर, लण्डनको ससुरालीघर र कोपनहेगनको मीतबाको घरअघि पुगेर निर्णायक नारा लगाउँनेछौँ ।
- त्यतिखेर अमेरिकी सेना नेपालमा बुट बजार्दै अमेरिकामा हामीलाई स्यालुट गर्नेछ ।
- जापानी सेना हाम्रो कुटाकुट र लुटालुटको फुटाफुट देखेर लज्जित हुनेछ । त्यतिञ्ज्याल हाम्रा सहीदको तस्वीर टोक्योका बिजुलीका पोलमा सुसज्जित हुनेछ ।
- दिनभर नारामा, घरका काम झारामा । फलाना ठाउँमा घाम लागिसक्दा नि यो पारामा भन्दै खाटमै आएर बाले दुई लात्ती दिएपछी आफ्नो खास धरातलमा बल्ड्याङ खाई यो समाचारका सम्पादक दुबई, मलेसियामा कामदार चाहियो, विज्ञापन पढ्न पत्रिका किन्न जानेछ । जदौ ।
लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध छन् ।

