असमकी कवि नैना अधिकारीको कविता संग्रह ‘घात-प्रतिघातका उद्गारहरु’ विमोचन गरिएको छ। असमको मरिगाउँ जिल्लाको जागिरोडस्थित नेपाली मन्दिरमा असमकी युवा पिँढीकी कवि नैना अधिकारीको पहिलो काव्यकृति “घात-प्रतिघातका उद्गारहरू” को लोकार्पण गरिएकाे हाे ।
असम नेपाली साहित्य सभाका केन्द्रीय उपसभापति कृष्णलाल शर्माको अध्यक्षता तथा अनेसासको मरिगाउँ जिल्ला समितिको आतिथ्यमा भएकाे पुस्तक विमोचन कार्यक्रम अघि कवि सम्मेलनको समेत आयोजना गरिएको थियो। अनेसास मरिगाउँ जिल्ला समिति मूलसचिव गङ्गाराम ढुङ्गेलले सभाको उद्देश्य व्याख्या गर्दै पुस्तक विमोचन र कवि सम्मेलनकाे जानकारी गराएका थिए।
अधिकारीको कविता संग्रह ‘घात-प्रतिघातका उद्गारहरू’ विमोचन गर्दै असमकी वरिष्ठ साहित्य इतिहासकार डा. गोमा अधिकारीले कृतिका विभिन्न पाटाको विश्लेषण गर्दै उनका कवितामा उनी छ्न्, उनको देश छ, उनको समय छ, नारी समाजका सुख र दुखको कथा छ र समाजका यिनै कथा-व्यथालाई उनले शब्दको मालामा उनेर आकर्षक शैलीले समाजका अघि पस्किएकाे बताइन् ।अर्कातिर, वरिष्ठ कवि रुद्र बरालले वर्तमान असमको कविता लेखनमा नारी श्रष्ठाहरूको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै यो ताँतीमा नैना अधिकारीको नाउँ जोडिएको र उनीबाट असमेली नेपाली साहित्यले निकै आशा गरेको बताए।
कवि सम्मेलनमा अनामिका उपाध्याय, नारायण थापा, डा. देवेन सापकोटा, पुरुषोत्तम उपाध्याय, ज्योति हुमागाईँ, विनोद घिमिरे र नवप्रभा अधिकारीले कविता वाचन गरेका थिए। त्यसैगरी मीना पौडेल र अमित अधिकारीले गजल सुनाएका थिए । निर्वाणा अगस्तीको एक सुन्दर नृत्य प्रस्तुतीले कार्यक्रमलाई अझ रोचक बनाएको थियो।

उक्त कार्यक्रममा असम नेपाली साहित्य सभाका महासचिव रुद्र बराल, सचिव नवप्रभा अधिकारी, केन्द्रीय सदस्य शङ्कर ढुङ्गेल, ज्योती हुमागाई, वरिष्ठ लेखक डा. सीताराम अधिकारी, डा. देवेन सापकोटा, अविकेशर शर्मा, पुरुषोत्तम उपाध्याय, कवि मिना पौडेल, नारायण थापा, अमित अधिकारी, जागिरोड महाविद्यालयका रसायन विज्ञानका अध्यापक डा. गोपी अधिकारी, हाम्रो स्वाभिमानका असम प्रान्तका सांस्कृतिक सचिव भानु शर्मा लगायत धेरै विशिष्ट कवि साहित्यकारको सहभागिता रहेको थियो।
अधिकारीकाे लाेकार्पण भएकाे कविता कृतिमा ४० वटा कविता समावेशित गरिएको छ भने यस पुस्तकको भूमिका असमका युवा समालोचक लक्ष्मण अधिकारीले लेखेका छन् । भारतेली नेपाली साहित्यका तीनजना प्रख्यात कवि राजा पुनियानी, डा. इन्दु प्रभा देवी र पवित्रा लामाले शुभेच्छाका हरफहरू लेखेका छ्न् । पुस्तक पूर्वायण प्रकाशनले प्रकाशन गरेकाे हाे ।



