- शुभ शर्मा
थकित शरीरलाई टुसुक्क बिसाउदै थिइन् , सन्तोषी । फोनको घण्टी बज्यो । उठाइन्। अनुहारमा बत्ती बल्यो । उनको छोराको हो भन्ने मैले अडकल काँटे । उनी मसंगै काम गर्छिन् । उनको अनुहार म सहजै पढन सक्छु । परदेशको ठाउँमा हामी एउटै होस्टेलमा बसेका छौँ ।
नाम सन्तोषी हो तर जीवनमा कहिल्यै उनले सन्तोषको सास फेर्न पाइनन् । हामी सबै कुरामा खुल्ला थियौँ तर पारिवारिक कुरामा भने उनी केही खुल्दिनथिन् । छोराको फोन आउँदा भने उनी साह्रै खुसी हुन्थिन् भन्ने मैले बुझेकी थिएँ । केही दिनपछिको कुरा हो , उनको अनुहारमा ग्रहण लागेको थियो । केही बोलीराखेकी थिइनन् ।
मैले केही दिन त सोधिँन तर निराशाको बादल लम्बिएको देखेँ । केही गर्न सक्छु कि भनेर मैले एकै सासमा सोधेँ , “ के भयो दिदी ? किन छट्पटिनु भएको? कुनै समस्या छ कि? कि सञ्चो छैन हजुरलाई ?´´ उनले गहभरि आँसु पार्दै भनिन् , “ केही दिन भयो, छोराले फोन गरेकै छैन । मैले गर्दा पनि उठाउँदैन।´´ मेरो पनि मन आत्तियो र उनको छोरालाई भिडियो कल गरेँ । अँह !उठाएन तर लगातार प्रयास गरेपछि बल्लबल्ल उठायो ।
` बाबु के भयो किन फोन नउठाएको आमाको? मैले ठाडै प्रश्न गरेँ । । उसका आँखा बोलिरहेका छन् तर ऊ मौन छ । खै ! के सम्झ्यो ? लामो सास लियो र एक्कासी झर्क्यो ,गर्नु परेको छैन फोन सोन्! उसले पहिला त मुन्टो बटार्यो तर पछि बिस्तारै ऊ मसंग खुल्यो ।
मैले सम्झाएँ ,“ तिम्रा बुबाले छोडेपछि तिम्रो भविष्यको निम्ति उनी समर्पित भइन्। तिमीबाट टाढा भएकी आमाले तिम्रो बुबा पनि बन्नु पर्यो । तिमी अब ठूलो भयौ बाबु ! तिमीले जिम्मेवारी सम्हाल्न सक्नुपर्छ ।अन्य आमाहरूलेझैँ उनी पनि तिम्रो समीपमा बस्न चाहान्छिन् । सन्तान सुखमा रमाउन चाहान्छिन् ।’
त्यसपछि मैले फोन काटेँ । एकछिनमै फोनको घण्टी फेरि बज्यो तर यसपटक मेरो होइन , उनको फोन थियो ।
पाेखरा

