मकवानपुर । स्थानीय तहकाे चुनाब सरकारले चैत महिनामानै गर्ने तयारी गरेकाे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल मकवानपुरको आयोजनामा आइताबार हेटौंडामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खतिवडाले चुनाव नियमित प्रक्रिया भएकाले समय सिमामा हुने बताए । अहिले रिक्त रहेका निर्वाचन क्षेत्रमा पनि चुनाब गर्ने तयारी सरकारले गरेकाे उनले बताए ।
यसैगरी ‘खोपको कारण नागरिकलाई कुनै समस्या नहुने समेत उनले बताएका छन् । खतिवडाले खोपको अहिले पनि समस्या नभएको र बिभिन्न देशबाट खोप आइरहेको अब पनि समस्या नहुने बताए। सङ्घीय तथा प्रदेश सरकारको मातहतमा रहेका अस्पताललाई स्तरोन्नति गर्दै आवश्यक चिकित्सकको दरबन्दी खुल्ला गरेर गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको मन्त्री खतिवडाले बताए ।
मन्त्री खतिवडाले छिमेकी राष्ट्र भारत, चीन र अमेरिकाबाट कोभिड विरुद्धको खोप ल्याई सबै नेपाली नागरिकलाई उपलब्ध गराउन थालिसकेको र अहिले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिए । दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकी स्थापना गरिने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी उपचार सेवालाई तीव्रता दिने लक्ष्यका साथ गृहकार्य भइरहेको पनि उनले जानकारी दिए ।
छात्रवृतिमा पढेका डाक्टरले २ वर्ष अनिवार्य सेवा गर्नुपर्नेमा दूर दराजमा त्यस्ता करारका डाक्टर पठाइएको खतिवडाले जानकारी दिए । सरकारले लागू गरेको स्वास्थ्य बिमाको उपचार राम्रो भएको तर, अस्पतालले भुक्तानी नपाएको गुनासो आइरहेको भन्दै त्यसबारे मन्त्रालयले चासो राखिरहेको उनले बता। समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिवकुमार काशीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसैबीच मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको आजै निरीक्षण गर्दै मन्त्री खतिवडाले गुणस्तरीय स्वास्थ्यसेवा छिटोछरितो उपलब्ध गराउन आग्रह गरेका छन् । मन्त्री खतिवडाले अत्याधुनिक ‘ए ग्रेड’काे एम्बुलेन्स आजै सरकारका तर्फबाट हेटौँडा अस्पताल मेसु रामचन्द्र सापकाेटालाई हस्तान्तरण गरेका छन् । मन्त्री खतिवडाले नेपाल भारत सहयोग कार्यक्रम अन्तरगत प्राप्त आइसीयु र मेडिकल विशेषज्ञ सहितको सुविधा भएको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । ‘ए ग्रेड’को एम्बुलेन्स प्राप्त गरेसंगै मकवानपुरमा गम्भिर बिरामीलाई अन्यत्र उपचार गर्न लैजान थप सहज हुने भएको छ ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा खतिवडाले हेटौंडा बागमती प्रदेशको राजधानी भएकोले यहाँ प्रदेशस्तरको अस्पतालका रुपमा हेटौंडा अस्पताललाई स्तरोन्नती गरिनुपर्ने र त्यसका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, प्रदेश स्वास्थ्य निर्देशक महेश्वरमान श्रेष्ठ, अस्पतालका मेसु सापकोटा, डा हरिबहादुर खड्का, नेकपा एकिकृत समाजवादी मकवानपुका अध्यक्ष श्रीधर पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

