गीताश्री शर्मा
यो मन !
उड्छ बादल छुने दाउमा
कहिले एक्लै घुम्दछ नभमा
चुम्छ कहिले आकाश
पाताल रूङ्छ कहिले
घुम्छ अन्तरीक्षमा
उसको, न साँझ न बिहान !
घुम्दै फिर्दै रुम्झाटार भनेजस्तै
थपक्क बस्छ ! नि:शब्द ऊ
बोकेर अनन्त चाहन ।
मन , मन हो !
रातका तारासँग घुम्छ कहिले
निशङ्कोच नभमा !
टहटह जूनको टहकमा पनि
भावनासँग हाँसेर ऊ
हातेमालो गरेर झुम्छ कहिले
न कसैको डर छ, न केही बाधा ,
न कसैले प्रश्न गर्छ त्यहाँ,
न हुन्छ वचनको तगारो नै
न अल्झन्, न अड्चन
निस्फिक्री घुम्छ संसार
गर्छ विश्व परिक्रमा एक्लै
उसलाई न त पासपोट, न चाहिन्छ भिसा
न त खर्चको आवश्यकता छ, न कुनै निसा
न कुनै दिशा, न ठाउँ न ठहर र ठेगाना
निर्धक्क छ ऊ एक्लो
यसैले आनन्दले रमाउँछ ऊ
साथमा बोकेर उग्र चाहना।
आखिर मनै हो!
न देशले रोक्छ कतै
न कुनै भौगोलिक परिवेशले
साध न सीमाना कतै
न परदेशी भनेर छेकिन्छ कतै
बन्दैन सिकार जातीयताको
नस्लभेदले पार्दैन असर
रमाउँछ एक्लै आतिथ्यमा
न जमाउछ कतै काव्यिक माहोल
एक्लै फकिर सन्त बनेर घुम्छ
पुग्छ कसैको झोपडीमा
कहिले महल कुटीमा,
कसैको बार्दली! कसैको फूलबारीमा !
अनि !
कसैको मनको ढुकढुकीमा
आतिथ्यमा रमाएर आफैं आफैँ
निर्ढुक्क हाँस्छ, बोल्छ, खेल्छ एक्लै
एकोहोरो बग्छ
अनि
भावुकतामा कम्लाउंँछ कतै
रसाउँछन् परेली पनि
अनायसै खिन्न बन्छ ऊ
रन्थनिएर घुम्दै, पुछेर अश्रुजल
घर फर्की आउंँछ
भिजेको मुसा भएर ।
तर किञ्चित सुस्ताउँदैन त्यो
मन भित्रको दह्रो भावना।
न हार्छ हिम्मत ऊ
न रोकिन्छ कतै
नठोकिन्छ कतै
नरोक्छ बेग उसले
निर्धक्क घुम्छ ऊ !
चन्द्र-सूर्य छुन्छ उसले
सफल,असफल वास्तै नगरी
कतै दौडिन्छ, कतै पौडिन्छ
चुपचाप मौन बस्छ अनि
रून्छ ऊ, छोड्छ डाको
भावविह्वल भएर तड्पिन्छ ऊ
घिट घिटो छउन्जेल
एक घुट्की पिएर पानी
पुनः जुर्मुराउँछ रमाउँन।
उषा, मध्यान्ह , सन्ध्या
चिसो, ऊष्ण, शुष्क बतासमा पनि
घुम्ने चाहना हुन्छ साथमा
गर्दछ ऊ एक्लै
निस्फिक्री निडर
ब्रह्माण्डको परिक्रमामा
बोकेर अझ अनन्त चाहाना।
गान्तोक, सिक्किम

