- जनक सिक्देल
सुरवीर उदण्ड स्वभावको थियो । आमा बुवासँग आफ्नो अंशको विषयमा लडाईँ झगडा मच्याउँथ्यो । अनि भन्थ्यो , ” मेरो अंश छुट्याइदिनू । म भिन्दै वस्छु । ” ” अहिल्यै हुँदैन । भाइ वहिनीहरूको पढाइलेखाइ र विहेदान गराउँनुपर्छ । अनि मात्रै बचेकोबाट दुइ विघा जग्गा र एउटा घर हाम्रो जीउँनी छुट्याएर बराबर अंश लाइदिन्छौँ । ” आमा बुवाले ठाडै जवाफ दिनुभयो ।
ऊ भने पटक्कै मान्दैनथ्यो । घरको कामधन्दाहरू मन लाएर गर्दैनथ्यो । जाँड रक्सीले मातेर आमा बुवालाई छाडा छाडा अपशव्दहरू प्रयोग गर्थ्यो । वहाँहरू उसको यस्तो ज्यादति देखेर दिक्कै भैसक्नुभएको थियो । तत्पश्चात भन्नुहुन्थ्यो , ” खुरूक्क विदेश जा । रूपियाँ पैसा कमा , घरजग्गा र धनसम्पति जोड् । यहाँ हामीले कमाएकोबाट अंश त पाइहाल्छस् नि । किन कचकच गरेको ? तेरो पनि त श्रीमती र वालवच्चाहरू छन् । तिनीहरूको भविष्य सोच् । ”
ऊ आमा बुवाको यस्तो कुराले झनक्क झन्कियो र वहाँहरूलाई हातपात गर्न थाल्यो । घोक्र्याइ मुन्ट्याइ पनि पार्न थाल्यो । वहाँहरू पनि गुहार ! गुहार ! मार्यो नि …. मार्यो भनेर रूँन कराउँन थाल्नुभयो । छिमेकीहरू पनि वहाँहरूको यस्तो आवाज सुनेर दगुर्दै आए र भने , ” सुरवीर ! आमा बुवालाई किन यसरी रूवाएको ? यस्तो मति विगारेर हिँड्नुहुँदैन । लाज हुन्छ , सबैले थुक्छन् , आफ्नो कामधन्दाहरू गर्नुपर्छ , मान , प्रतिष्ठा र ईज्जत कमाउँनुपर्छ । ”
उसको पालो ठाडै जवाफ दियो , ” तपाईँहरू को हो ? मलाई सम्झाउँने । आ – आफ्नो घरतिर जानोस । म कसैलाई पनि चिन्दिन र भनेको पनि मान्दिन । ” ” त्यसोभए तिम्रो घरमा मर्दा पर्दा अनि कुनै पनि सामाजिक कार्यहरू हुँदा हामीहरू फर्केर आउँदैनौँ । ” उनीहरूले एकैस्वरमा जवाफ तेर्स्याए । अनि आ – आफ्नो बाटो लागे ।
वैशाखको महीना थियो । उसले आफ्नी छोरीकी विहेको लागि सबैलाई डाक्यो । गएर हात जोड्यो र आफ्नो गल्ती स्वीकार गर्यो तर पनि कोही फर्केरै आएनन् । तत्पश्चात ऊ घर फर्केर आयो । अनि आमा बुवालाई भन्यो , ” मैँले आफ्नो गल्तीको परिणाम पाएँ । तपाईँहरू चाहिँ होशियार हुनूस है । ”
विराटनगर – ५ मोरङ्ग

