मकवानपुर । हेटाैडामा भएकाे खुल्ला दाैड प्रतियाेगितामा महेश माेक्तान प्रथम भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार भएकाे ५ किलोमिटर पुरुष खुल्ला दौड प्रतियोगितामा हेटौंडाका मोक्तान प्रथम भएका हुन ।
अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा प्रदेश युवा परिषद् बागमती प्रदेशको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा दौड प्रतियोगिता भएको हाे । प्रदेश युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरि दिवस मनाइरहेका छ । अगष्ट १२ बाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम गर्न ५१ सदस्यीय मुल आयोजक समिति बनाइएको छ ।
शनिबार भएकाे दौड प्रतियोगितामा ४० जनाले सहभागि रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले बताए । हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड प्रतियोगिता पिप्लेपुगी पुनः बुद्धचोकमा अाइ समापन भएको थियो । प्रतियोगितामा हेटौंडा १३ वनस्पतिका मोक्तानले १६ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरि प्रथम भएका थिए । त्यस्तै प्रदेश प्रहरी कार्यालयका सुरेश साह द्वितीय भएका छन् । उनले १७ मिनेट २६ सेकेन्डमा दौड पुरा गरेका थिए । प्रदेश प्रहरी कार्यालयकै एजिन राईले १७ मिनेट ३६ सेकेन्डमा दौड पुरा गरि तृतीय भएका छन् ।
साताव्यापी कार्यक्रमको पहिलो दिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको विशेष आतिथ्यतामा प्रदेश युवा परिषद्को हेटौंडास्थित कार्यालयको उद्घाटन गरिएको थियो । त्यस्तै साउन २९ गते जिल्ला युवा समिति मकवानपुरको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ भने साउन ३० गते जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड कार्यक्रम शनिवार भएको छ ।
साताव्यापी कार्यक्रम अन्तर्रगत साउन ३१ गते बाल कल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रमबाट जोगाँउ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिने भएकाे छ । साउन ३२ गते शिक्षाका लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम संचालन गरिने छ । भदौ १ गते हेटौंडा लेडी जेसिसको समन्वयमा वक्तृत्वकला प्रतियोगिता संचालन गरिने तथा भदौ २ गते कार्यक्रम समापन गरिने जनाइएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस विश्वका विभिन्न मुलुकमा सन् २०२० र नेपालमा सन् २००४ देखि मनाउन सुरु गरिएको हो ।

