- अम्बिका खरेल उप्रेती
१.
सजायौ मन्दिरमा सजिए निल कहाँ छ मेरो ?
आखिर पत्थर नै बनायौ दिल कहाँ छ मेरो ?
आफैँ कोट्याउँछौ फुटाउँछौ सधैँ सहि रहेछु
कमायौ गुमायौ तिमीले बिल कहाँ छ मेरो ?
२.
लोटालाई कलस बनाउन अब मैले सिकेँ
गरम गरि लोहा गलाउन अब मैले सिकेँ
अहिंसा परमोधर्म भन्दै मनको हत्या गर्यौ
फूल राखी पत्थर सजाउन अब मैले सिकेँ ।
३.
प्रकृतिको बहावसँगै बहेको जीवजन्तुको खुसी
नसानसामा छाप लागेको सौन्दर्य श्रीयन्तुको खुसी
कुसलताको सहीछाप हुँदैन कर्कलाको पानीमा
उत्साह उमङ्ग झिनो अभिलाषा हर तन्तुको खुसी ।
४.
उत्साहका बढून् पाइला शिखर सर्ने गरी
सफलताले छाइरहोस् विश्व भर्ने गरी
आउँदैजाँदै सधैँ गर्छन दु:खसुख जीवनमा
ज्ञान विवेकले सफल हुनू सागर तर्ने गरी ।
५.
महत्त्वपूर्ण हुन्छ छोडेको त्यो छायाँ समाजमा
गरेका कर्मको प्रतिविम्ब नै माया समाजमा
उचो भयो सत्य भावना निरन्तर आएपछि
मानव जगत् नै सुन्दर पार्छ काया समाजमा ।
विराटनगर -१२

