- अर्पण योन्जन (पारिजात)
नौ, महिना गर्भमा राखेर
तिमीले जन्माएपछी
कन्दामुल र भ्याकुरको साहारामा
आफ्नो अस्तित्व बचाएर
तिम्रो लाम्टा परेका छाती चुसाएर
तिम्रो धोती च्यातेर
हिउँदको सिरेटो
र, बर्खाको चिसो छलेर
तिम्रो चाउरी परेको गालाहरुले
ममताको मोइ खादै
पाखा, भित्ता, कन्दरा र जंगलमा
शरिरमा एउटा चोट नलगाइ
राउटेकी राजकुमारी बनाएर
खेल्दै हुर्काएकी मलाइ
आज,
म लुटिएको छु आमा
घानको मकै झै भुटिएको छु
ती अर्कै दुनियाँ को मान्छेबाट
हो आमा
म आज तिनै नरपिसाचहरुबाट
छलछाम र कपट गरेर
बलात्कृत भएको छु,
फुल झै मेरो जोबन
पापीहरुबाट चुटिएको छु
जोड्न नसकिने सिसा झै,
टुक्राटुक्रा भएर चोइटिएको छु ।
हो आमा
ती पापिहरुले नसा पिलाएर
ती अर्कै दुनियाँको मान्छेबाट
म आज बलात्कृत भएको छु ।
हो आमा ।
तिम्रो जस्तो निश्चल
र, तिम्रो जस्तो निस्वार्थ प्रेम
अरुकसैको नहुने रहेछ
किनकी आमा
तिमीले जन्माएर हुर्काएदेखि
बन जंगल र पाखा भित्तामा
नाचेर हुर्किएकी म
बाहिरी दुनियाँ नदेखी
ऐनाले नदेखेको मलाइ
अचनाक म हराएको रात
शहरमा क्यामेराले देखेछ आमा
र, गुडिया बनाएर नचाइ
क्यामेराबाट सुरुभएको
मेरो मुस्कान
आज क्यामेराबाटै अन्त्य भो आमा ।
हो आमा,
ती निस्ठुरी शहरका मान्छेहरुबाट
म आज बलात्कृत भएको छु ।
साँच्चै आमा
यो शहर पापी छ,
दुनियाँको दुनियाँसंङ्ग
बेमतबी छ
दुई बर्से नाबलकदेखि
नब्बे बर्सकी बृद्धसम्म
बलात्कार हुन्छ ।
त्यसैले तिमी शहर न आउनु है आमा
नत्र तिमी पनि बलात्कृत हुनेछौ
साँच्चै आमा
शहरमा देखिएको, झिलिमिली जस्तो
रंगिन मनहरु रहेनछन
यहाँको मान्छेहरुको
र,त आज म
ती अर्कै दुनियाँको मान्छेबाट
शहरका ती नरपशु हरुबट
बलात्कृत भएको छु
अब कहिलै हाँस्न नसक्ने गरी
पटक पटक बलात्कृत भए आमा
हो, पटकपटक
बलात्कृत भए ।।।
२५ जेठ २०७८,
इटहरी–२०, हाल साउदी अरेबिया

