मकवानपुर। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा म्याग्सेसे पुरष्कार बिजेता एवं चर्चित नेपाली बैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । सिंहदरबारमा आइतबार भएको भेटमा कोरोनाविरुद्वको लडाईंमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका हुन् ।
कोरोनाविरुद्वको लडाईं सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको उपप्रधानमन्त्री पोखरेलले बताएका छन् । भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए । पुनका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ । बैज्ञानिक पुनले संकटकालिन अबस्था भएकाले त्यही अनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेल समक्ष आग्रह गरेका छन् ।
उपप्रधानमन्त्री पोखरेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने पाेखरेलले बताए । पाेखरेल र पुनकाे भेटमा कोरोना संकटमा हातेमालो गर्न सकिने विषयमा पनि छलफल भएको थियो । सरकारले राम्रो काम गरिरहेको भए पनि जनतामा काम देखिन नसक्नु दुःखद भएको पुनको भनाइ थियो ।

