नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । काठमाडौँमा भएको कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आगामी चार वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बनेका हुन् ।
निर्वाचन समितिको नतिजाअनुसार कुल ७,३१७ मतदाता रहेकोमा ७,०३९ मत खसेको थियो भने ५४ मत बदर भएको थियो । खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले ६,५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गरे । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत (५.३५ प्रतिशत) प्राप्त गर्दा ०.७७ प्रतिशत मत बदर भयो । थापाले खड्गीभन्दा ६,२०९ मत बढी प्राप्त गरी भारी मतान्तरले विजय हासिल गरेका छन् ।
यसअघि कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए । तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिको असहमतिबिच विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । त्यही कार्यसमितिले १५ औं महाधिवेशन गराएको हो ।
काे हुन् सभापतिमा विजयी थापा ?
जन्मः २०३३ साल साउन ४ गते महेन्द्रकुमार थापा र रामेश्वरी थापाको कोखबाट सोलुखुम्बुमा भएको हो ।
माध्यमिक शिक्षाः सिद्धार्थ वनस्थली हाइस्कुल बालाजु काठमाडौं
शिक्षाः समाजशास्त्रमा स्नातकोत्तर
बिबाहः २०६५ वैशाखमा नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीकी छोरी अञ्जना केसीसँग ।
रुचीः चलचित्र हेर्ने, अध्ययन गर्ने र घुमफिर गर्ने
प्रकाशित पुस्तकः ‘संविधान सभामा नेपाली कांग्रेस’ नामक पुस्तक ।
राजनीतिः २०४६ सालको जनआन्दोलनदेखि विद्यार्थी राजनीतिबाट सुरु ।
संलग्नताः कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिमा होमिएका उनी २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य, २०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष र २०५९ देखि २०६१ सम्म नेविसंघको महामन्त्री
२०६२–०६३ को जनआन्दोलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धको आन्दोलनमा आक्रामक र ओजनदार भाषण गरेर उनी राष्ट्रिय स्तरमा चर्चामा आएका थिए । पार्टीभित्र निरन्तर पुस्तान्तरण र संगठनात्मक सुधारको एजेन्डा उठाउँदै आएका थापा कांग्रेसको १२औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
१३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेर तेस्रो मत ल्याएका उनलाई तत्कालीन सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । त्यसपछि १४औँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट उम्मेदवार बन्दै उनी महामन्त्रीमा सर्वाधिक मतसहित विजयी भएका थिए ।
थापा २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र २०७०, २०७४ तथा २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । थापा २०७१ सालमा कृषि तथा जलस्रोत समितिको सभापति र २०७३ सालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भएका थिए ।

