मकवानपुर । गोरखाको बूढी गण्डकी नदीमा आइतबार बिहान आएकाे बाढीका कारण धेरै बस्तीमा क्षति पुगेको छ। चुमनुब्री गाउँपालिका-६ माचुमचेत क्षेत्रमा सुक्खा पहिरो झरेर बुढीगण्डकी नदी थुनिएर आइतबार बिहान करिब साढे ३ बजेतिर अकस्मात भिषण बाढी आएकाे हाे ।
बाढीका कारण चुमनुब्री-३ मा ४-५ वटा बस्ती नै बगाएको छ। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीकाे झल्काे दिने गरी गोरखामा आज भिषण बाढी आएको हो। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बाढीले चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का ४-५ वटा बस्ती नै बगाएको हो।
ठूलो आवाजसहित बाढी आएको सुनेपछि नदी तटिय क्षेत्रका स्थानीय घर छाडेर डाँडातिर चढेका थिए। मानविय क्षतिकाे विवरण अहिलेसम्म नआएको स्थानीय प्रशासनले जनाएको छ। बाढीले स्थानीयका घर, गाडीसहितका धनसम्पत्तिसँगै राज्यको धेरै भौतिक संरचना बगाएको छ।
५ जना चौरी गोठालो सम्पर्क विहिन
बाढीपछि पाँचजना चौरी गोठाला सम्पर्कविहीन भएका छन् । चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बिहान आएको भिषण बाढीपछि केही मानिसहरू सम्पर्कविहीन भएको बताए । ‘यो बाढीमा पनि मानिसहरु परेको आशंका छ। अझै सबै विवरण आइसकेको छैन। धेरै घर र हाइड्रो पावर पनि बाढीले बगाएको छ’ उनले भने ।
चुमनुब्री ६ कुन्जुलुङ खोलामा आज बिहान साढे ३ बजेतिर सुरुमा भूकम्प आएजस्तो ठूलो धक्कासहित जमिन हल्लिएको र लगत्तै बाढी आएको बताइएकाे थियो । ‘त्यो निकै ठाडो हिमाली खोला हो। सुख्खा पहिरो गएपछि खोला थुनिएको अनुमान हामीले गरेका छौँ। तर यकिन भएको छैन’ अध्यक्ष लामाले भने ।
बुढीगण्डकी बाढी खतरा तहभन्दा माथि
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने घट्ने क्रम जारी रहेको जनाएको छ। बाढीकाे असर नवलपरासीसम्म पर्न सक्ने भएकाेले त्यहाँ सम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।
प्राधिकरणले भनेको छ, ‘बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने घट्ने क्रम जारी रहेकाले त्रिशूली नदी बेनिघाटसम्म (अति उच्च जोखिम) रहुनेहुनेले उच्च स्थानमा जानुहोला, मुगलिनसम्म (उच्च जोखिम) रहनुहुनेले उच्च सतर्कतामा बस्नुहोला, चितवन र नवलपरासी नदी आसपास (मध्यम जोखिम) रहनुहुनेले सतर्क रही नेपाल बाढी सूचना (फेसबुक पेज) वा ११५५ (२) बाट थप जानकारी लिनुहोला।’
६ जनाकाे उद्दार गरिएकाे प्रधानमन्त्रीकाे दावी
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आइतबार बिहान गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् पहिरोको जोखिममा रहेका ६ जनाको उद्धार गरिएको बताएका छन्।
उनका अनुसार बुढीगण्डकी बाढीपश्चात् खोज तथा उद्धारका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत् इलाकाबाट ६ जनाको उद्धार गरिएको हो। तर प्रधानमन्त्री शाहले उनीहरूको नाम सार्वजनिक गरिसकेका छैनन्।
पैयू र बगर गाउँका ३५ घर बगाएको
गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ।
बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ। आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन् । त्यसैगरी चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ।
कम्तीमा १० जना सम्पर्कविहीन, ६ वटा पुल बगायो
बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढी गोरखामा कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्। बाढीले छ वटा पुल बगाएको छ। बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएकाे छ ।
आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको हो। बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ। यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।
बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ। बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ।
१८ जना कर्मचारीले भागेर ज्यान जोगाए
गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । १८ जना कर्मचारीहरुले भने भागेर ज्यान जोगाएका छन् ।
सो कम्पनीका ९ वटा ब्लक र ६ वटा पब्लिक बिल्डिङहरू बगाएको छ प्रारम्भिक सूचना प्राप्त भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
आयोजनामा कार्यरत १८ जना कर्मचारीहरूले भने स्थानीयबाट बाढी आउन लागेको सूचन पाएपछि भागेर ज्यान जोगाएका छन् । उनीहरू आफैं अग्लो र सुरक्षित स्थानमा गएका हुन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो क्षतिको प्रारम्भिक विवरण
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा घर, पुल र हाइड्रोपावरमा क्षति पुगेको उल्लेख छ ।
फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरु माथिल्लो उचाइमा रहेकाले कम जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।
क्षतिको प्रारम्भिक विवरण–
चुमनुब्री गा.पा. ३, न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको ।
चुमनुब्री–३, सिर्दीबास बस्ने राम ब. गुरुङको १ वटा कच्ची घर बगाएको, १ वटा घरमा बाढी पसेको ।
धार्चे गा.पा.–५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको ।
धार्चे – ५, माछीखोलास्थित तल्लो बस्तीमा बाढी पसेको ५/७ वटा घर, ५/७ वटा टहरामा बाढी पसेको ।
धार्चे –३, सल्लेरी स्थित २०/२२ घरहरु जोखिममा रहेको ।
आरुघाट गा.पा. २ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको ।
चुमनुब्री गा.पा. ३, सल्लेरीस्थित निर्माणाधिन सहज ऊर्जा पावर हाउस र वरपर रहेका ७/८ वटा घरहरु बगाएको ।
आरुघाट गा.पा. ९, नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तिन भाग रहेकोमा गोरखा तर्फको एक भाग बगाई क्षति भएको, बाटो पूर्णरुपमा अवरोध रहेको ।
बाढीले पुर्याएकाे क्षति प्रति काँग्रेस सभापति थापाले गरे दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन्।
थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

