मकवानपुर । मकवानपुरकाे हेटौंडामा संचालित नगरस्तरीय क्रिकेटकाे उपाधी हेटौंडा ८ ले हात पारेकाे छ । हेटौंडा उपमहानगरपालिका–४ नं. वडा कार्यालयकाे आयोजना तथा मकवानपुर जिल्ला क्रिकेट संघको व्यवस्थापनमा भएकाे प्रतियाेगिताकाे उपाधी ८ ले जितेको छ ।
आइतबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएकाे फाइनल खेलमा आयोजक हेटौंडा–४ काे टीमलाई ५३ रनले पराजित गर्दै हेटौंडा–८ ले उपाधि चुमेकाे हो । उपाधि विजेता हेटौंडा–८ ले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता हेटौंडा–४ ले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएकाे छ ।
टस जितेर पहिले व्याटिङ् गरेको हेटौंडा–८ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । टोलीका लागि विष्णु राउतले ५७ बलमा ५७ रन बनाउँदै अर्धशतक प्रहार गरे । विजय घलानले २९ बलमा २९ रन तथा सागर मगरले ११ बलमा १२ रनको योगदान दिए । १ सय १३ रनको लक्ष्य पछ्याएको हेटौंडा–४ ले १५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५९ रन मात्रै बनाउन सक्यो । हेटौंडा–४ का विशाल फुयाँलले २० बलमा र उदिप श्रेष्ठले १२ बलमा समान १२–१२ रन बनाए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका हेटौंडा–८ का प्रेम क्षेत्री म्यान अफ द म्याच घोषित भए । त्यस्तै, हेटौंडा–९ का युविन बुढाथोकी म्यान अफ द सिरिज घोषित भए । उनले ५ हजार रुपैयाँ नगद पुरसकार सहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा हेटौंडा–८ का प्रेम क्षेत्री उत्कृष्ट बलर, युविन बुढाथोकी उत्कृष्ट व्याट्सम्यान तथा मेराज देवान उदीयमान खेलाडी घोषित भए । उनीहरूले जनही दुई हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा हेटौंडा–४ ले हेटौडा–९ लाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै, शुक्रबार भएको दोस्रो सेमिफाइनलमा हेटौँडा–८ ले हेटौंडा–११ लाई ६ रनले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

