मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश कमिटीकाे मकवानपुरकाे हेटौंडामा सम्पर्क कार्यालय स्थापना गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ मा रहेको एमाले मकवानपुर पार्टी कार्यालय भएकाे भवनमा बुधबार प्रदेश कमिटीकाे सम्पर्क कार्यालय स्थापना गरिएकाे हाे ।
प्रदेश संगठन कमिटीका गतिविधि तथा सांगठनिक कामलाई समन्वय गरिने गरी स्थापना भएकाे सम्पर्क कार्यालयकाे एमाले केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै सचिव महेश बस्नेतले राजनीतिक चेतना, सैद्धान्तिक तथा वैचारिक ज्ञान र संस्थागत अनुभवविनाको नेतृत्वले देशलाई सही दिशामा अघि बढाउन नसक्ने बताए । ‘राज्य सञ्चालनको जिम्मेवारी पाउने नेतृत्वमा राजनीतिक चेतनासँगै संस्थागत अनुभव र वैचारिक स्पष्टता आवश्यक हुन्छ’ उनले भने ।
सचिव बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको छ महिनामै देश कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने विषय क्रमशः स्पष्ट हुँदै गएको दाबी गरे । विगतमा दुर्गा प्रसाईंले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको दाबी गरेको विषयलाई सामाजिक सञ्जालमा ठूलो मुद्दाका रूपमा उठाइएपनि अहिले ‘ग्रे जोन’ को रिपोर्टमा उल्लेख विषयबारे पर्याप्त बहस हुन नसकेको उनले बताए । उक्त रिपोर्टमा उल्लेख गरिएका विषयलाई जनतामाझ लैजानुपर्ने समेत उनकाे भनाइ थियाे ।
एक अर्काे प्रसंङ्गमा सचिव बस्नेतले पछिल्लो समय डिजिटल प्लेटफर्म एमालेविरुद्ध प्रयोग भइरहेको दाबी गरे । ‘सामाजिक सञ्जालमा पार्टीविरुद्ध चलाइएका अभियानको सामना गर्न छुट्टै जनशक्तिको मात्र भर पर्नु हुँदैन’ उनले भने ‘पार्टीकै नेता तथा कार्यकर्ता डिजिटल माध्यममा सक्रिय भएर पार्टीको धारणा प्रस्तुत गर्नु पर्छ ।’
एमाले प्रदेश संगठन कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा भएकाे कार्यक्रममा एमाले मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य महेश बर्तौला, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, एमाले मकवानपुर अध्यक्ष हिदम लामा, एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देल, अनेम संघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेलगायतकाे उपस्थिति थियो ।

