मकवानपुर । बागमती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थालाई मध्ये नजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने सामाजिक विकास मन्त्रालयले निर्णय गरेको हो ।
मन्त्रालयले परीक्षणका लागि तत्काल एन्टीजेन पठाएको र आरटी पीसीआर सेवा संचालनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जानकारी दिइन् । मन्त्री बस्नेतले भनिन्, ‘प्रयोगशाला भनेको कोरोना संक्रमणको जोखिमको बेला मात्रै होइन, अन्य रोगको पनि परीक्षणका लागि पनि प्रयोगमा आउने महत्वपूर्ण स्वास्थ्य उपकरण हो, त्यसैले अहिले कोरोना संक्रमणको बेला पीसीआर र पछि अन्य परीक्षण गर्न मिल्ने भएकाले सबै ल्याब जिल्लामा स्थापना गर्ने निर्णय गरेका हौं ।’

मन्त्रालयले मेसिन खरिदलगायतका आवश्यक प्रक्रिया शुरु गरेको छ । बागमती प्रदेश अन्तरगतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ । यसअघि प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब स्थापना भएकाे छ । केही दिन अघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याब स्थापन स्थापना भइ पीसीआर परीक्षण गर्न शुरु गरिएकाे छ ।

