मकवानपुर । नेकपा (माओवादी केन्द्र) मकवानपुरले स्थानीय तह तथा संगठनको भेला र बैठक गर्ने भएको छ । सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विघटन गरेपछि नेकपा (माओवादी केन्द्र) मकवापुरको पहिलो बैठक बसी मकवानपुरको १० वटै स्थानीय तह कमिटीको बैठक चैत १९ गतेदेखी २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
जसअनुसार हेटौंडा उपमहानगरपालिकाको चैत १९ गते, राक्सिराङ गाउँपालिकाको चैत २० गते, बकैया गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका र मनहरी गाउँपालिकाको चैत २१ गते, मकवानपुरगढी गाउँपालिकाको चैत २३ गते, बागमती गाउँपालिकाको चैत २४ गते, भिमफेदी गाउँपालिकाको चैत २५ गते, कैलाश गाउँपालिकाको चैत २६ गते र थाहा नगरपालिकाको चैत २८ गते हुने भएको छ ।
त्यस्तै, जिल्लाको सबै वडाको बैठक बसी माओवादी पार्टीको बोर्डसहित कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको जिल्ला नेता तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनले बताए । उनका अनुसार पार्टीबाट निर्बाचित स्थानीय र प्रदेश जनप्रतिनिधिको भेला चैत २८ गते तोकिएको छ ।
साथै, पार्टीको जनबर्गीय मोर्चाहरूको चैत मसान्तसम्म बैठक बसी बैशाख मसान्तसम्ममा भेला, सम्मेलनहरू गर्ने निर्णय पनि भएको बताईएको छ । पार्टीलाई सुदृढ, क्रान्तिकारी, बलियो बनाउँदै समाजवादी लक्ष्य हाँसिल गर्न पार्टी केन्द्रको सर्कुलर अनुसार जिल्ला कमिटिले निर्णय गरेको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमति प्रदेश अध्यक्ष नारायण दाहालको प्रमुख अतिथ्य तथा केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तानको बिशेष आतिथ्य रहेको थियो । पार्टीका मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको अध्यक्षमा भएको बैठकमा प्रदेश कमिटी सदस्यहरु बिष्णु बिष्ट, ओम घलान, सर्केश घलान, बिरबहादुर घलान, ललित घलान लगायतको सहभागिता रहेको थियो ।

