मकवानपुर । फागु अर्थात हाेली पर्व आज आइतबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइदैछ । एकापसमा रङ र लोला खेली आपसी सद्भावका साथ फागु मनाइन्छ । । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु हिमाली एवं पहाडी तथा पूर्णिमाकाे भाेलीपल्ट तराइका जिल्लाहरूमा हाेली पर्वकाे रूपमा मनाइदै अाइएकाे छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व पछिल्लो समय सभ्य बन्न थालेको पाइन्छ । जनचेतना तथा सुरक्षाा सक्रियतकाे कारणा पर्व सभ्य बन्दै गएकाे हाे ।
सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।
सावधानी अपनाएर होली मनाउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आग्रह गरेकी छन् । कोरोना भइरस (कोभिड–१९) महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गरी होली मनाउन आग्रह गरेकी हुन् ।
यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्भाव, सहिष्णुता,आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास होली पर्वको शुभकामना दिदै व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणको कामना समेत गरेकी छन् । ‘यो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति, कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश जारी गर्दै होली पर्वले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
सभापति देउवाद्वारा भौतिक दूरी राख्दै सुरक्षित रुपमा होली मनाउन आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत मुलुकमा फेरी पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दूरी राख्दै सुरक्षितरुपमा यो पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।
होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन् ।
हाेली गीत सुन्नुहाेस

