- मिना चौलागाईं
१.
कहिले नाग जस्तै बनी आफ्नै मनलाई डस्नुपर्ने ।
भावनाको हत्यारा भइ आफैलाई छुरी धस्नुपर्ने ।
जब उड्छन् रहरहरू माथि माथि बादलमाथि-
फेरि मनलाई गाँठो पारी असिना भइ खस्नुपर्ने ।
२.
गन्तव्यमा लम्किएका तिमीलाई अलमलाउन सक्दिनँ ।
निर्जीव जस्तै भएकी छु आफै चलमलाउन सक्दिनँ ।
आशा नराख्नु तिमीले औँसीको रातसँग पूर्ण चन्द्रको-
अन्धकार छ जिन्दगी घाम झै झलमलाउन सक्दिनँ ।
३.
नारी उन्मुक्तिका मिठा नारा राष्ट्रपति भवनदेखि छाउपडीसम्म पुगोस् ।
शहरका ठूलाठूला महलदेखि गाउँमा खरका गरीब झुपडीसम्म पुगोस् ।
पुगोस् सुनको दाम्लोमा सजिएर सुनकै हतकडी र नेल लाउनेलाई सम्म-
पतिको कमाइमा रवाफ देखाएर महिलाकै खुट्टा तान्ने खोपडीसम्म पुगोस ।
४.
आँखाले एउटा मुखले अर्कै बोलेर ढाँटेको सम्झन्छु ।
एउटै गाँठोको लागि बाह्र हाते डोरी बाटेको सम्झन्छु ।
लाजले झुकेको शिर थोरै उठेर चार आँखा हुँदा भने-
घरीघरी तिम्रा ती नजरले सिमाना काटेको सम्झन्छु ।
५.
न त फुर्सद छ मनलाई न त कहिल्यै पालो हुन्छ ।
जीवनका हरेक कदम घनघस्याको उकालो हुन्छ ।
साँच्चै किन यस्तो हुन्छ भनिदेऊ न प्रिय मान्छे-
तिमी हरियो थोप्लोमा देखिदा रात नै उज्यालो हुन्छ ।
६.
नैतिक हरामहरूको लाज कसरी छोपिन्छ र नानाबाट ।
आफूलाई ठूला भन्नेहरूले केही सिक हामी सानाबाट ।
अरुले घोडा चढेको देखेर आफू धुरी चढ्नेले बुझ्नु-
मुरी हुनलाई पनि जम्मा गरिनुपर्छ मुठ्ठी हुँदै मानाबाट ।
७.
एउटा तस्वीर हेरी मुस्कुराउँछु ।
मनको धोको फेरी मुस्कुराउँछु ।
बिर्सनेलाई सम्झिनु भन्दिनँ तर-
म बिर्सेको पल केरी मुस्कुराउँछु ।
८.
न त दुखाइ नसम्झेरै टार्नलाई मान्छ यो मन ।
न जित्न सकियो न त हार्नलाई मान्छ यो मन ।
मनको झिनो भरोसामा कहिलेसम्म चल्ला मुटु-
न दु:खको अन्त्य वर सार्नलाई मान्छ यो मन ।
९.
विश्वासलाई कुल्चिएर घातको पुल तरेपछि ।
अलिअलि गर्दागर्दै अन्तै बसाइँ सरेपछि ।
दागबत्तीले हतार गर्छ सम्बन्धको मुहार हेर्न –
मन डढेर खरानी हुन्छ आफ्नोपन् मरेपछि ।
१०.
आफ्नै ठान हक जमाऊ, रिसाऊ अलिकति ।
मनमा केही शंका होलान् पिसाऊ अलिकति ।
छैनन् धेरै ठूला सपना थोरै आशा अवश्य छ-
मात्र प्रेमको सागरमा प्रेम नै मिसाऊ अलिकति ।

