- विष्णु दत्त अवस्थी
तिमीसँग जोडिएको मन
मनसँग गाँसिएको आत्मा
आत्मासँग मिसिएको परमात्मा
कहाँ बिलाए
आज ती सबै स्नेहका डोरीहरू
सबै छुटे झै लाग्छ
हेर्दा हेर्दै कहाँ हरायौ बुबा तिमी ?
चारैतिर खोजे
आकाश छाम्ने कोशिस गरें
मन्द हावासँग सोधें
बादलसँगै मडारिएं
भौतारिँदै नयनहरू रसाए
तर
तिम्रो छायाँ कतै भेटिन बुबा ।
आँसुका थोपाहरूले
आखाँ रसाए
सकेनन् तिमीलाई फर्केर ल्याउन
रोदनका प्रत्येक थोपाहरूले
मुटुको गहिराइलाई झन गहिरो बनाई रहे
जहाँ तिमी अझै गाडिएका छौ
रसिलो सम्झना बनेर ।
तिम्रा अर्ति सम्झें,
तिम्रा वचनहरू मनन गरें,
आज पनि कानमा गुन्जिरहन्छन्
एक्लै टोलाएर बस्छु
तिम्रै सम्झनामा हराउँछु
आँखा आफैँ चुहिन्छन
यहिँ छौ कि ? भनी
झलझली देख्छु
त्यो पुरानो कुर्सीमा बसेर
मलाई नै हेर्दै मुस्कुराइरहेको
नियाल्छु सबैतिर
पाउँदिन तिम्रो छायाँ पनि
केबल सुनसान अँध्यारो रात मात्र
तिमी बिनाको यो संसार
उराठ लाग्दो,
सुनसान,
अनौठो,
विश्वास गर्नै गाह्रो,
तिमी साँच्चै छोडेर गइसकेको हौ र बाबा ?
सायद तिमी नजिक छैनौ,
त्यो टाढाको आकाशमा
एउटा तारा बनी
मलाई नै नियालिरहेछौ
मेरो हरेक सुख दु: ख हेर्दै
मेरा आँसु पुछ्दै
एक दिन
दुई दिन गर्दै
आज एक महिना बितिसक्यो
तिमीले टुहुरो बनाएर
परमात्माको काखमा समेटिएको
सधैँका लागि ।
तर बुबा
मेरो हरेक सासमा तिमी छौ
हरेक धड्कनमा तिमी
जीवनको हरेक मोडमा
मेरो शक्ति बनि
मेरो साहस बनि, मेरो जोश र जांगर बनी ।
मात्र तिमी मेरो साथ छौ
हार्दिक श्रद्धा सुमन बुबा ।

