प्रख्यात भारतीय पार्श्व गायिका आशा भोसलेको आइतबार निधन भएकाे छ। कार्डियक अरेस्टका कारण उपचारका लागि भर्ना गरिएकी भोसलेको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो।
भारतीय सङ्गीत जगतको एक ठूलो हस्तीको रूपमा उनको नाम गनिन्थ्यो र पार्श्व गायिकाको रूपमा उनले धेरै अविस्मरणीय गीतहरू दिएकी छन्। भाेसलेले भारतीयसहित नेपाली तथा अन्य विभिन्न भाषाका गीतमा आवाज भरेकी छिन् ।
काे हुन् आसा भाेसले ?
आशा भोसलेको जन्म ८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रको ‘सांगली’मा भएको हो। यिनको पिता दीनानाथ मंगेसकर प्रसिद्ध गायक एवं नायक थिए। जसले शास्त्रीय सँगीतको शिक्षा एकदम सानो उमेरमा नै आशालाई दिएका थिए । भोसलेले मात्र ९ वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन्।
सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गरेकी उनले १९४८ को फिल्म ‘चुनरिया’ बाट हिन्दी सिनेमामा पाइला टेकेकी थिइन्। आफ्नो बहुमुखी प्रतिभाका कारण गजल, भजन, पप र शास्त्रीय संगीतमा जादुमयी स्वर दिएकी आशा ताईको नाममा विश्व कीर्तिमान समेत रहेको छ। सन् २०११ मा गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई संगीतको इतिहासमा विश्वमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो।
सुविख्यात गायिका आशा भोसलेले भारतीय २० भन्दा बढी भाषा र विदेशी भाषाहरूमा समेत गरी १२ हजार भन्दा बढी गीत गाएकी छन्। ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’ र ‘पिया तू अब तो आजा’ जस्ता उनका कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् । उनले स्वर दिएका नेपाली गीतहरमा ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायत थुप्रै नेपाली हिट कालजयी छन् ।
१६ वर्षको उमेरमा आफ्नो ३१ वर्षीय प्रेमी ‘गणपत राव भोसले’ (१९१६-१९६६) सँग घरबाट भागेर पारिवारिक इच्छाको विरूद्ध विवाह गरिन्। गणपत राव लता जीको निजी सचिव थिए। यो विवाह असफल रहयो। पति एवं उनको भाइहरूको नराम्रो व्यवहारको कारण यस विवाह दु:खान्त भयो। १९६० को आसपास विवाह विच्छेद पछि आशा आफ्नो आमाको घरमा दुई बच्चाहरू र तेस्रो गर्भस्थ शिशु (आनन्द) सँग फर्किइन। १९८० ई.मा आशाले ‘राहुल देव वर्मन’(पञ्चम) सँग विवाह गरिन्। यो विवाह आशाले राहुल देव वर्मनको अन्तिम अबस्थासम्म सफलतापूर्वक निभाइन्।
गायन क्षेत्रमा चम्किएपनि उनको नीजि जीवन भने सुखद रहेन । विवाहपछि आशा भोसलेले धेरै कठिनाइहरूको सामना गर्नुप¥यो र उनी घरेलु हिंसाको सिकारसमेत भइन् । उनी जीवनबाट यति निराश भइन् कि आफूलाई समाप्त गर्न चाहन्थिन् । सन् १९६० मा उनी पहिलो पतिसँग अलग भइन् ।
जब आशा भोसलेको पहिलो विवाह टुट्यो, उनी आफ्ना तीन सन्तान (हेमन्त, वर्षा र आनन्द) सँग परिवारमा फर्किइन्, तब बिस्तारै दूरी कम हुन थाल्यो । आशा भोसलेले दोस्रो विवाह संगीतकार आरडी बर्मनसँग गरिन्। दुवैको पहिलो भेट १९५६ मा भएको थियो। उनीहरूको गहिरो मित्रता र संगीत यात्रा फिल्म ‘तीसरी मञ्जिल’ (१९६६) को समयमा सुरु भयो।
लगातार काम गर्दै जाँदा उनीहरूको मित्रता बिस्तारै प्रेममा बदलिन थाल्यो । आशा भोसले र आरडी बर्मन (पञ्चम दा) को आफ्नै सन्तान थिएनन्। आरडी बर्मनले एक दिन मौका पाएर आशासमक्ष विवाहको प्रस्ताव राखे । आशाले तुरुन्तै स्वीकार गरिन्, तर बर्मनकी आमाले विवाह अस्वीकार गरिन् ।
उनले बर्मनलाई भनिन्, यदि यो विवाह भयो भने मेरो लाशमाथि मात्र हुनेछ । बर्मनकी आमाले अस्वीकार गर्नुको कारण आशा उनीभन्दा ६ वर्ष जेठी थिइन् र तीन सन्तानकी आमा थिइन् । त्यसपछि बर्मनले चुपचाप आमाको कुरा माने। तर जब बर्मनका पिता एसडी बर्मनको निधन भयो, आमाको मानसिक अवस्था बिग्रियो ।
आमाको अवस्था सुधारका लागि बर्मनले १९८० मा आशा भोसलेसँग विवाह गरे । आशा भोसलेले ५० देखि ९० को दशकसम्म ओपी नैयर, आरडी बर्मन, खय्याम र बप्पी लहरीजस्ता धेरै संगीतकारसँग काम गरिन्। धेरै सदाबहार गीत गाइन्। भोसलेकाे अन्तिम संस्कार सोमबार गरिने भएकाे छ ।

