लाग्छ अझै मैले लेखेको चिठी, शहर पुगेको छैन ।
गाउँमा अस्पताल पुगेको छैन, डाक्टर पुगेको छैन ।
उ ! त्यो तुइनमा झुन्डिएको देशको भविष्य हो बाबू,
कोही विद्यालय पुगेको छैन, कोही घर पुगेको छैन ।
गाउँमा विकास नगरेर पनि, सरकार ठिकै गरेछस्,
आमा खुशी नै छिन्, छोरो मरेको खबर पुगेको छैन ।
छोरी ! अघाउन सिक भोकमा, देख्न सिक अँध्यारोमा,
त्यो कर्णाली हो, चामल पुगेको छैन, नजर पुगेको छैन ।
ए लोकतन्त्र ! तिमी नपग्लनु, केहिबेर स्खलित नहुनु
मलाई अझै एक सन्तान जन्माउने रहर पुगेको छैन ।
१५ औं चितवन महोत्सव – २०८१ मा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा तृतीय स्थान प्राप्त गजल

