बुटवल । प्रीति आत्रेय ज्ञवालीकाे “मणिराम” मुक्तकसङ्ग्रह बुटवलमा लोकार्पण गरिएकाे छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीतिद्वारा लिखित “मणिराम” मुक्तकसङ्ग्रह लोकार्पण गरिएकाे हाे ।
वटुकहरुको स्वस्तिवाचनबाट शुरु गरिएकाे कार्यक्रमको प्रतिष्ठान अध्यक्ष पुरुषोत्तम पाण्डेले अतिथिहरुलाई स्वागत गर्दै प्रतिष्ठान सदैव भाषा, कला, संस्कृतिको संरक्षणका क्षेत्रमा अघिबढिरहेको छ बताए । साहित्यकार बुँद रानालगायतले मुक्तक संग्रहकाे विमाेचन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले मणिराम कृतिकालाई प्रीतिलाई बधाई तथा कृतिकारका ससुराबुबा मणिरामलाई जन्मोत्सवका अवसरमा बिसासय आयुको शुभकामना दिए । उनले प्रीतिले कृतिमार्फत पितृभक्ति र सामाजिक सद्भावको अभियन्ता बनेको बताए । मुक्तककार प्रीतिले ससुराबुबा मणिराम ज्ञवालीको जन्मदिनको अवसरमा मणिराम मुक्तकसङ्ग्रह विमोचन गराएर ससुराप्रति सम्मानोपहार प्रदान गरेकाे बताइन् ।
कृतिका समीक्षक समेत रहेका डा. मुरारी पराजुलीले ऋग्वेदको मुक्तकीय आयाम, भर्तृहरि, अग्निपुराण आदिमा चर्चा गरिएको मुक्तकको प्रसंग र यसको गुणवत्ताको बारेमा प्रष्ट उल्लेख भएको जानकारी दिए । मुक्तकले हृदयलाई चमत्कृत गर्न सक्नुपर्ने, मुक्तक सुनेर, पढेर मनमा स्वतस्फूर्त अहा ! को भाव प्रस्फुटित हुनुपर्ने र छोटो भएर पनि मुटुभेदन गर्न सक्ने हुनुपर्छ भन्ने विचार राख्दै अहिले त्यस्ता मुक्तक सुन्न, पढ्न कमै पाइने गरेको उनले बताए ।
‘कृतिकार प्रीतिकाे अंग्रेजी र संस्कृत भाषामा राम्रो दख्खल भएको, पारिवारिक विरासतको रुपमा बौद्धिकता प्रवल हतियार भएको र त्यो बौद्धिक क्षमता र पूर्वीय चिन्तन मुक्तकमा प्रशस्त रहेको छ’ उनले भने । मुक्तकमार्फत कृतिकार नीति प्रवचकका रुपमा देखिएको भन्दै मुक्तकले समाजमा व्याप्त बेथिति, भ्रष्टाचार, कुशासन, राजनैतिक स्खलनलगायतका विरुद्ध आवाज उठाएको उनले बताए ।
मणिराम मुक्तकसङ्ग्रहमा भूमिका लेखेका मुक्तककार रुद्र ज्ञवालीले मुक्तकमा काव्यिक चेत, आध्यात्मिक चेत, रुवाइशैली, पाश्चात्य सभ्यताको अन्धानुकरणको विरोध, चरित्रवान मानिस र आदर्श पारिवारिक परिवेश निर्माणमा मुक्तकले जोड दिएको बताए । विष्णुराज आत्रेय प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रतिष्ठानको गतिविधि उल्लेख गर्दै प्रा. डा. विष्णुराज आत्रेय (लाटोसाथी) को शालिक स्थापना गर्ने योजना रहेको बताए ।
प्रा. डा. हिरण्यलाल ज्ञवालीले कृतिले पुत्रबधूले आफ्ना ससुराबुबाको सम्मानमा उदाहरणीय काम गरेको बताए । कृतिकार प्रीतिले कृतिको रचनागर्भको बारेमा बताउँदै आफ्ना ससुराबुबाको जन्मोत्सवमा आशिर्वाद लिन र पितृऋण चुक्ता गर्न उहाँकै नामको कृति जन्मदिनमा लोकार्पण गराएको बताए । कृतिमा प्रयोग भएका केही शब्दका सम्बन्धमा उठेका जिज्ञासाको उत्तर समेत उनले दिएका थिए ।
लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादले लुम्बिनी प्रदेशका बाह्रओटै जिल्लामा क्रियाशील संस्थाको परिचय दिँदै यसको गतिविधि र भावी कार्ययोजनाबारे पनि जानकारी गराएका थिए ।
प्रीतिको यस अघी पुष २०८० मा नवौं कृति चुटुक्क मुक्तक संग्रह काठमाडौंमा लोकार्पण गरिएकाे थियाे । भाद्र २०७९ मा कविता संग्रह “अनुभूतिको इन्द्रेनी” सार्वजनिक गरेकी उनका गीतहरू “आफ्नो त मन छ माइतीघरतिरै (तीज गीत २०७५) ” र “तिमी मेरो पूजा (प्रणय गीत २०७७)” युट्युबमार्फत प्रसारित छन् । उनका बिबिसि, साहित्यपोस्ट, हिमालय टाइम्स, कान्तिपुर, नेपाल समाचारपत्र, नेपालनाम्चा, सहीखबर, संसारन्यूज, वैजयन्ती साहित्यिक पत्रिका, हाम्रो पुरुषार्थ, नारी, कल्पतरु, दायित्व आदि विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा विभिन्न समसामयिक विषयसित सम्बन्धित लेख रचनाहरू प्रकाशित भएका र हुँदै गरेका छन् ।
कम्बोडियालाई कर्मभूमि बनाएकी आत्रेय प्रवासमा रहेर साहित्यसँगै ज्योतिष फलादेशको माध्यमबाट पनि समाजसेवा क्रियाशील छिन् । उनी नेपालकै पहिलो नारी राशिफल लेखिका पनि हुन् । हामी र हाम्रो कृति समूहकी आजीवन सदस्य रहेकी उनको पछिल्लो कृति ‘मणिराम’ दशौं कृतिका रूपमा सार्वजनिक भएको हो ।
कार्यक्रममा उद्योग वाणिज्यसंघका हरिप्रसाद अर्याल, ऋषिराम भुषाल, साहित्यकार वनमाली निराकार, दौंघा रुपन्देही सम्पर्क समाजका अध्यक्ष भीमलाल ज्ञवाली, साइनो वाङ्मय चौतारीका सल्लाहकार धातानन्द शर्मा गैरेले कृतिले पारिवारिक समन्वय र प्रेम, सभ्य, सुसंस्कृत आदर्श समाजको विषयलाई उजागर गरेको बताउँदै कृति सफलताको शुभकामना दिएका थिए ।
राजेन्द्रकुमार आचार्य, कृष्णप्रसाद कोइराला, दीपक भण्डारी, शिव प्यासी, कृतिकारका ससुरा मणिराम ज्ञवाली, सासु लक्ष्मी ज्ञवाली, आमा आर्या आत्रेयलगायतले शुभकामना दिएकाे कार्यक्रममा संस्थाका नयाँ आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेको अध्यक्षता तथा साहित्यकार बुँद रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाे उपाध्यक्ष कृष्ण गाउँलेले सहजिकरण गरेका थिए ।

