- दुर्गा वनवासी
उसले कविताहरु लेख्यो- राष्ट्रभक्तिका, धर्ती प्रेमका र विश्व शान्तिका, गान्धी र गौतमका, सेता परेवा र ढुकुरका, सामाजिक मेलमिलापका, परोपकार र अहिंसाका ।
त्यसपछि एउटा ख्यातिप्राप्त पत्रिकाका सम्पादकलाई भेट्न गयो । कविताका शिर्षकहरु सर्सर्ती हेरेपछि सम्पादकज्यू पड्किए- “यस्तो पनि कविता हुन्छ ? यी कोरा भावनामा डुबेर खेस्राहरु केर्दैमा कविता हुन्छ र ? कविताले त क्रान्ति ल्याउनु पर्छ, समाज परिवर्तन हुनुपर्छ, मान्छेका सोचहरु बद्लिनुपर्छ । जानोस्, क्रान्तिकारी कविताहरु लेख्नोस् ।”
ऊ फर्कियो अनि कविताहरु लेख्यो- जनजागृतिका, लैंगिक समानताका, जातीय स्वतन्त्रताका, वर्गीय आन्दोलनका, मार्क्सका, लेनिनका आदि, आदि । कविताहरु लिएर पुन जाँदा त्यहाँ त अर्का सम्पादक आइसकेका रहेछन् ।
कविताका टाउकाहरुमा एक नजर दौडाइसकेपछि कविताहरु फिर्ता गरेर नाक खुम्च्याउँदै सम्पादक महोदयले भने- “मुलुक यस्तो धर्मर अवस्थामा छ । हत्या र हिंसाको बाढी आएको छ, देशका युवाहरु बिदेश पलायन हुने क्रम बढ्दो छ । यस्तो स्थितिमा राष्ट्रिय एकताको भावना जगाउने, शान्ति र कल्याणको आव्हान गर्ने कविताहरु नलेखेर यस्ता क्रन्तिकारी कविताहरु लेख्न हुन्छ ? यसले त झन प्रलय ल्याउँछ, अशान्ति निम्त्याउँछ ।
जानोस्, शान्ति र मानवताका कविता लेख्नोस् । मान्छेका मनभित्र देशभक्ति, लोककल्याण र परोपकारको भाव जगाउनोस् ।”
हाम्रो लघुकथा केन्द्र, नेपालकाे फेसबुक ग्रुपबाट

