मकवानपुर । कुमारी लामाकाे निबन्धसंग्रह ‘दर्ज्यु संलाप’ काे हेटौंडा विमर्श गरिएकाे छ । शनिबार उक्त निवन्ध संग्रहमाथि विमर्श गरिएकाे हाे ।
किताबघर हेटौंडा र ‘आह्वान’को संयुक्त आयोजनामा भएको कार्यक्रममा लामाले आफू हुर्केको परिवेशलाई साहित्यमा समेट्दा अझ प्रभावकारी बन्ने बताइन् । आफ्नो पछिल्लो निबन्धसङ्ग्रह ‘दर्ज्यु संलाप’ माथिको विमर्श कार्यक्रममा लामाले आफ्नै पृष्ठभूमिका भुइँमान्छेका विद्रोहलाई निबन्धात्मक रुपमा ल्याउँदा निबन्धको दायरा अझै फराकिलो बन्न पुगेको बताइन् ।
कवि तथा समीक्षक निमेष निखिलको सुशासन कायम गर्ने बेग्लै निकाय हुँदाहुँदै लेखकले प्रश्न मात्रै उठाउने हो वा समाधान पनि गर्ने हो ? भन्ने सवालमा लामाले प्रश्न उठाउनु आवश्यक रहेको बताइन् । संविधानले छोरीलाई अंश र वंशको अधिकार दिंदैमा व्यवहारमा परिवर्तन नहुने उनकाे भनाई थियो । निबन्धहरूलाई शृंखलात्मक रुपमा प्रस्तुत गरिएको ‘दर्ज्यु संलाप’मा उल्लेखित पात्र कान्छी तामाङको जीवन आफ्नो लागि प्रेरणादायी रहेको उल्लेख गरिन् ।
विगतमा न्युन पारिश्रमिक दिएर तामाङहरूको शोषण भएको, ज्यानै मास्न सकिने कानूनी व्यवस्थाले राजनीति, शिक्षा, अर्थमा विगतदेखि नै दमनका शृङ्खला रहेकोले पात्रहरूमा तामाङहरूकै बाहुल्यता रहेको लेखक लामाले बताइन् ।
यश लामा, सुबास सजल, वनस्तम थिङ लगायतले पाठकीय टिप्पणी राखेकाे कार्यक्रममा आख्यानकार उमा सुवेदीले ‘आह्वान’का गतिविधिबारे जानकारी गराएकी थिइन् ।
हेर्नुहाेस भिडियो

