सुशीला शर्मा
आजकल उनीहरू
बेलामौकामा भन्ने गर्छन
बिचरा! तिनीहरूको दुख
देखेर हामीहरू सार्है आहत भयौ !
दुख त उनीहरुको आफ्नै थिए
जो आफ्नैमा प्रस्फुरण हुन सकेन
तिनीहरूको दुखमा मल्हम
लगाइदिएको बहाना गर्दै
आफ्नै लागि रुदै थिए।
च्व: च्व: कठैबरा !
यस्तै राहत अरुका लागि
खोजिरहेछौ सुबिस्ता र
मान सम्मान आफ्नै लागि
ढोङ्ग पनि अलिकति स्वाङ्ग पनि
नाटकीय लाग्न नदिन
थोर बहुत सतर्कता पनि
अनौठो के मान्नू र खै
यसरी नै चलेपछि सन्सार पनि।
सन्देह पो लाग्छ आजकल
बुद्ध आफ्नै दुखले दुखी भए
या अरुको दुखका कारण खोज्न गए ।
शान्ति प्राप्त गरे या क्रान्ति ?
काठमाडौ

