मकवानपुर । सत्तासिन दल जनता समाजवादी पार्टी (जसपा) ले मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा ५ दलीय गठबन्धन तोडेर प्रमुख तथा उपप्रमुख सहित वडाध्यक्षहरुमा उम्मेद्वारी दर्ता गरेको छ ।
सोमबार राती ११ बजेसम्म चलेको उम्मेदवारी दर्तामा जसपाले गठबन्धनबाट बाहिरिदै आफ्नो उम्मेदवारी दर्ता गरेको हो ।
जसपा मकवानपुरका सचिवालय सदस्य सुबोध घलानका अनुसार मकवानपुरमा ५ दलीय गठबन्धनले जसपालाई समावेश नगरेपछि १० वटै स्थानीय तहमा उम्मेद्वारी दर्ता गरेको र चुनावी प्रचारप्रसारमा अघि बढेको हो ।
बैशाख १७ गतेसम्म पनि मकवानपुरमा गठबन्धनले जसपालाई चासो नदिएमा जसपा पूर्ण रुपमा गठबन्धनबाट बाहिरिने र सबै दलहरुसंग मितव्ययी रुपमा चुनावी प्रतिस्पर्दामा जाने तयारी रहेको घलानको भनाइ छ ।
यता नेपाली कांग्रेसले पनि जिल्लाको विभिन्न स्थानीय तहमा गठबन्धनबाट बाहिरिदै आफ्नो उम्मेदवारी दर्ता गराएको छ । राती अबेरसम्म मनोनयन दर्ता चलेकोले यसबारे जानकारी संकलनको क्रममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

