- खेमलाल पहारी
तारे होटलमा एउटा भव्य कनर्यक्रमको आयोजना भएको थियो। समाजसेवी, राजनितिज्ञ, व्यापारी, पत्रकार, धार्मिक प्रवचक, सेना, पुलिस, राजनेता, विद्यार्थी सबैका प्रतिनिधीहरूको उपस्थिति थियो । अगाडि प्रवेशद्वारमा एउटा चिल्लो कार आएर अङियो । कालो चश्मामा एकथान शुट टाई बाहिर निस्केको के थियो, सबै उतै दगुरे । हल खाली भयो। फेरि हल भरियो ।
आगन्तुकले चश्मा खोलेर आँखा पुछ्दै गर्दा पछाडिबाट आवाज आयो – ए अँ, चिनें चिनें; त्यही क्या त उखुबारी घटनामा चश्मा छोडेर भाग्ने! पछाडि खासखुस चलिरहँदा उसले अगाडि रिबन काट्यो र यससँगै एउटा तुल फर्र तल झ-यो । लेखिएको थियो- अन्तरास्ट्रिय नारी दिवस २०७८ । सबैले ताली पिटे ।
उसले भर्खरै काटेको रिबन तल डस्टविनमा आफ्नो अस्मिता जोगाउन चिच्याइरहेको थियो – “बँचाऊ!”
भरतपुर-४, चितवन
