
सरस्वती काेइराला
सधैं चुप चाप बस्ने मात्र तिम्रो पहिचान नबनोस
हरेक कुरा सहने मात्र तिम्रो पहिचान नबनोस
चाहे जस्तो सुकै कठिन परिस्थिति किन नआवोस
हार मानी सधैं पछी सर्ने तिम्रो पहिचान नबनोस ।
थिमि, भक्तपुर

प्रीति आत्रेय ज्ञवाली
१.
कसैको डरमा हैन आफ्नै भरमा बाँच्न परोस्
अरूको त्रासमा हैन आफ्नै करमा बाँच्न परोस्
नारीहरू सबै यति सक्षम भैजाउन् संसारमा कि
कसैलाई बाध्यतामा हैन आफ्नै रहरमा बाँच्न परोस् ।
२.
नारीलाई हेर्ने सम्मानको नजर हुनुपर्छ
नारीलाई बुझ्ने भावनाको कदर हुनुपर्छ
गोष्ठी सभा सेमिनार गरेर मात्र अर्थ छैन
नारीलाई विभेद गर्ने कानून बदर हुनुपर्छ ।
बुटवल हाल कम्बोडिया

सरस्वती पाैडेल
हजारौं हजार थान खुसिको कल्पना लिएर
समृद्धि आइदियोस घरघरमा वन्दना लिएर
हाम्रो हक र अधिकारमा समनाता रहोस भन्दै
म आएँ आज नारी दिवसको शुभकामना लिएर .
भरतपुर चितवन

सुदर्शन शर्मा
नारी दिवसको शुभकामना सदाबहार आउँछ
दिवस कै भोली पल्ट नारीमा अत्यचार आउँछ
आजको दिन मात्र किन सम्मान गर्छौ नारीको
पटकपटक नारी नै लुटिएको अखबार आउँछ।
सिरानचोक ३ गोरखा

