- अम्बिका गौतम
साइँलो प्रायः गाउँमा उसलाई यही नामले चिन्छन । हुन त उसको न्वारनमा पुरोहितबाले राखिदिएको नाम त धनकुमार हो तर अहिले उसको नाउँ कुनै कागजमा सही गर्ने बेलामा मात्रै काम आउँछ । अरुबेला उ साइँला ले नै परिचित छ ।
सानैदेखि उ मेहनती नै थियो सबै काम उसलाई हेरेर नै आइहाल्थ्यो तर पढ्न भने उ त्यति ज्ञानी थिएन अथवा उसलाई पढ्न मनै लागेन । साँउ अक्षर मात्र चिनेर उ घरेलु व्यवसाय पटिनै लाग्यो । उसले रोपेको साग सब्जीदेखि लिएर अन्न बाली प्रसस्तै हुन्छ तर अभाग होला, सौ मन अदुवा फल्यो भने सौ रुपैयाँ मन नै हुन्छ । भाउ पटक्कै आउँदैन ।
जेनेतेने गाइबस्तु पालेर उसले घर चलाउँछ,अहिलेको जमानामा दूध बेचेको पैसाले नानीहरू पढाउन कति साह्रो छ। थलाभरी गाइ बस्तु छन् दिन रात तिनै सासका धनहरुको सेवा गर्नु छ । अरुतिर निस्कने फुर्सद छैन । त्यही पनि कोहिबेला बाटो लढिदिन्छ घरमा दुधको बर्बाद, दुधले नुहाउनु भएन । महिना मरेर पैसा आउँछ र यसो गरौं भन्ने सोच्ने गर्छ। समयमा कहिले पैसा आउँदैन ।
माथ्लो तहमा बस्नेहरूलाई गाईको अभाव होस् न दुधको गरिबको मर्म कसरी बुझ्ने? कहिले गाउँमा तल्लो घरे माइलो झुन्डिएर मर्छ कहिले पल्लोघरे कान्छो फलान्छ । माथ्लो घरे आमै बुढेसकालले जान्छिन ,त्याहाँ सरौ पुर्याउनु । यस बीचमा तिज ,दशैं , तिहार चेलीबेटी भान्जा -भान्जी सबै आउँछन् गर्जो टार्नै पर्यो इज्जत ढाक्नै पर्यो । फलानो ठाउँको पैसा आएपछि तिर्नु पर्छ भन्दै माग्नु पर्यो ।
धेरै वर्षअघि देखि सरकारले घर बनाइदिन्छु भनेर भोट मागेको सरकार फेरियो तर उसको घर फेरिएन । दु:ख गरेर बनाएको झोपडी पनि अब त लढ्नै लाग्यो । मर्मत गर्ने पैसा छैन । जुन जोगी आए नी कानै चिरेको थैलो नै भिरेको उखान उसलाई सही लाग्छ । कहिलेकाहीँ उ सम्झिन्छ सधैं अभाव र दु:ख मात्रै छ मेरो नाम चै किन पुरोहितले धनकुमार राखेत ? सायदै भविश्यमा म पनि धनी हुन्छु होला भनेर चित्त बुझाउँछ ।
सिङ्ताम, पूर्व सिक्किम

