मकवानपुर । राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदलाई शपथ गराउँदै संघीय संसदको लोगो प्रदान गरेका छन् ।
गत माघ १२ गते भएको राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए । यसैगरी एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका थिए ।
यस्तै नेकपा माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित भएका छन् । नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।
४ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् । एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र काँग्रेसका ३ सदस्यको पदावधि शुक्रवार सकिएको हाे ।
पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए ।

