
आदिकविको जन्मक्षेत्र तनहुँमा स्थापित साहित्यिक संस्था “शुक्ला साहित्य सङ्गम”द्वारा प्रकाशित, शेषमणि आचार्य संरक्षक, वेणुप्रसाद खतिवडाद्वारा सम्पादित एवं कार्यकारी सम्पादक जनार्दन दाहाल लगायत आनन्दसुन्दर श्रेष्ठ, नारायणकुमार श्रेष्ठ, टुकादेवी आचार्य, आकाश अधिकारी, जीवन सागर, जुनु खड्का, युवराज पौडेल सम्पादक मण्डल रहनु भएको ” शुक्ला प्रवाह मुक्तक विशेषाङ्क- 2078″ पारिवारिक शिलशिलामा नेपालको धरान पुगेको समय सम्पादकले सम्झना स्वरूप पठाइदिनु भएको प्रति सधन्यवाद प्राप्त गरें ।
तर लत्काल सुन्दर कलेवर हेर्नबाहेक पढिहाल्ने समय पाइएन । हुनतः भाग्यवश सामाजिक सञ्जालमा आफ्ना मुक्तकहरू पनि समावेश भएको सुसमाचार पाइसकेकी थिएँ । हामीजस्ता नवोदित सर्जकहरूका रचनाहरू यस्तो उच्च स्तरीय सङ्ग्रहहरूमा प्रकाशित भइसकेपछि हेर्ने उत्सुकता त जागेर आउने नै भयो । अझ सङ्कलन नै हात परेपछि प्रातिस्वीकृति दिन हामी सर्जकहरूको धर्मिता नै हुनजान्छ भन्ने मेरो ठम्याइ हो । शुक्ला साहित्य सङ्गम, तनहुको स्थापना वि. स. २०६०-मा भएपछि विभिन्न साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै आएको साहित्यिक संस्थाले यस अघि गजल विशेषाङ्क, लघुकथा विशेषाङ्क, कथा विशेषाङ्क र कविता विशेषाङ्क प्रकाशित गरिसकेकाे छ ।
यस पटक ” शुक्ला प्रवाह, मुक्तक विशेषाङ्क”-को सम्पादन एवं प्रकाशन गरेर संस्थाले नेपाली साहित्यिक क्षेत्रमा नवीन आयाम थपेकाे अनुभव गरेकी छु । पृष्ठ सङ्ख्या एकसय नब्बे भएको गहकिलो ‘मुक्तक विशेषाङ्क’मा जम्मा-जम्मी १ सय ५५ जना मुक्तककारहरूका ४/४ मुक्तक गरी जम्मा जम्मा छ सय २० मुक्तकहरू समावेश गरिएको छ । विशेषाङ्कमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष श्री रामकाजी कोनेको शुभकामना, श्री रामजीप्रसाद आचार्य, मुक्तक मञ्चका अध्यक्षको शुभकामना लगायत सम्पादक मण्डलबाट लेखिएको सम्पादकीयले विशेषाङ्कको आद्योपान्त ऐनाजस्तै छर्लङ्ग पारिदिएको छ ।
शब्द सिर्जना कुञ्जका डा. मुरारी पराजुलीले लेख्नुभएको “नेपाली मुक्तकको परिचय”-ले मुक्तकहरूको पृष्ठभूमि, विधागत स्वरूप, मुक्तकको परिभाषा, मुक्तकको प्रकारगत वर्गीकरण, चरणवितरणगत प्रकार, स्रोतगत प्रकार, छन्दगत प्रकार, अन्त्यानुप्रासगत प्रकार, विषयगत प्रकार, विचारगत प्रकार, भावगत प्रकार, परम्परागत प्रकार, कथनगत प्रकार, मुक्तकका संरचक घटकहरू र निष्कर्षले मुक्तकहरूमा हुनपर्ने लेखन, वाचन , बन्धन, वर्गीकरण, मुक्तकको ऐतिहासिकता, प्रचलन र यसको विकासबारे विहङ्गम अवलोकन नेपाली मुक्तककारले मात्र होइन नेपाली साहित्यका सबै सर्जकहरूले अध्ययन र मनन गर्नुपर्ने नितान्त आवश्यक रहेको छ ।
मुक्तक, गजल, कविता, हाइकु, सुसेली, दोहा, तीन हरफे कविता तथा नेपाली साहित्यमा कलम चलाउनेहरूका निम्ति रामवाण सिद्धभएको अनुभव गरेकीछु । उक्त विशेषाङ्कमा वरिष्ठ मुक्तककार रामकाजी कोने, शरूभक्त, रामजीप्रसाद आचार्य, रमेश पौडेल लगायत सशक्त मुक्तककारहरूका चोटिला, पोटिला, स्तरीय, व्यङ्ग्यात्मक र पढिरहुँ लाग्ने मुक्तकहरूले मनै छोएको अनुभव गरेकीछु । नेपाली भाषा-साहित्यका विभिन्न विधामा आएको लेखनीलाई मुक्तकले पनि धेरै पाठक र सर्जकहरू स्थापित गरिसकेको समयमा आफू पनि सिक्किमकाे जनपक्ष प्रकाशनसित आबद्ध रहेर प्रकाशनकार्य गरेको तीनदशकको घण्टीले आवाज दिइसकेको अनुभव गरेकीछु । नेपाली साहित्यका पाठकहरू नेपालमा कति छन् ? भारतमा कति छन् र विभिन्न मुलुकहरूमा कति बसोबास गर्छन् ? नेपाली साहित्यमा लेखिएका उच्च स्तरीय साहित्यिकतिहरू ५ सय प्रति र हजारजति प्रतिहरू बिक्री-वितरण हुन कतिका दशक लाग्छन् ? नानी जन्माउने आमालाई नै थाहा हुन्छ, प्रशववेदना के हो ? र कस्तो हुन्छ ? साहित्यबाट साहित्यको सेवागर्छु भन्न कतिले हिम्मत गर्छन् ? म यसै भन्न सक्तिनँ ।
तर पनि आफ्नो साहित्यको धर्मलाई निरन्तरता दिएर संसारभरि छरिएर मुक्तक विधामा कलम चलाउने सर्जकहरूलाई वरिष्ठ को को हुन् ? को को कनिष्ठ हुन् ? को स्थापित हुन् ? कुन कुन नवोदित हुन् तील र रौं जति पनि नछुट्याइकन एकसूत्रमा बाँध्ने काम गरेको छ शुक्ला परिवारले, शुक्ला परिवार स्वयंमा सम्मानित छ । आगामी दिनहरूमा पनि नयाँ नयाँ आयाम र विधाका विशेषाङ्कहरूले निरन्तरता पाउन् ! शुभकामना व्यक्त गर्दछु।
गान्ताेक,सिक्किम

