सम्प्रस पाैडेल
वन्दना त्यतै छ
फोटो त्यतै छ
अपलोड, डाउनलोड
वरदान त्यतै छ ।
छैन कुनै शङ्का र भय
गुगलेश्वर पिताकी जय ।
मैले गुगल बाबासँग मन्त्र मागेँ
बाबा एकाएक सर्च गर्न जागे
ल अब बालक ग्रुपमा शेयर गर्नू
आफ्नो प्रोसेस अरूकन भन्नु ।
यति भनिकन बाबा अलप भए
यस्ता मरमपूज्य बाबाकी जय ।
सत्ययुगमा पनि यस्तै हुँदो हो
विकासले चरम सीमा छुँदो हो
सेन्सरले अलप गराउँथे ती देउता
मरेका जीव पनि त ज्यूँदो भो ।
कथाकुथी गुथेरै नपत्याउने बनाइए
यिनै गुगल थिए ती जय गुगल जय ।
माता सरस्वती युट्युबमा सिकाउँछिन्
सब्सक्राइब र लाइक गर्नलाई बताउँछिन्
घण्टी बज्छ भिडियो अपलोड हुनासाथ
मिलियन भ्यूअर लिई संसारै तताउँछिन् ।
माताको वन्दना हरक्षण गरूँ
उनकै वृतान्त जताततै छरूँ ।
मनहरी गाउँपालिका, मकवानपुर

