मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेशका विभिन्न स्थानमा भइरहेकाे विकास निर्माण र विद्यालयहरुको अनुगमन गरेकी छन् । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा १ दर्जन बढी विद्यालय, शिक्षालय, कभर्ड हल र विकास, निर्माणको मन्त्री मुक्तानले अनुगमन गरेकी हुन् ।
मन्त्रालय अन्तर्गत निर्माणाधिन तथा संचालित विद्यालय र बहुप्राविधिक शिक्षालयहरुको भवन, प्रयोगशालाहरु, निर्माणाधिन कभर्ड हल, १ विद्यालय एक उद्यम कार्यक्रम अन्तर्गत विद्यालयहरुमा संचालित हाँस पालन, धान खेती लगायतको मन्त्री मुक्तान सहितकाे टोलीले अनुगमन गरेको हाे ।
मन्त्री मोक्तानसहितको टोलीले भरतपुर महानगरपालिका १० स्थित नारायणी नमुना माध्यमिक विद्यालय, नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर २२ स्थित निर्माणाधिन कभर्ड हल, भरतपुर २३ स्थित भरतपुर बहुप्राविधिक शिक्षालयको अनुगमन गरेको थियो । साथै, माडी नगरपालिकामा निर्माणाधिन कभर्ड हल, माडी ८ स्थित जनजीवन माध्यमिक विद्यालयमा प्रविधि सहयोग, तटबन्धन र वाल निर्माण, माडी ६ स्थित जनकल्याण माध्यमिक विद्यालयको हाँस पालन र धान खेती, दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय र निर्माणाधिन भवन तथा माडी ५ स्थित दिवाकर मेमोरियल विद्यालयको निर्माणाधिन भवन र धान खेती अनुगमन गरिएको थियो ।

मन्त्री मोक्तानलाई विद्यालयहरुका प्रधानध्यापक तथा अध्यक्ष, बहुप्राविधिक शिक्षालयहरुका प्रमुख, निर्माण कम्पनीहरुका प्रतिनिधिले भएका विकास र प्रगति विवरण, बजेट, समस्या र थप सहयोगबारे अवगत गराएका थिए । मन्त्री मोक्तानसहितको टोलीलाई माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालसहित विद्यालय, शिक्षालय, कम्पनीहरुका प्रमुख तथा प्रतिनिधिहरुले स्वागत समेत गरेका थिए ।
मन्त्री मोक्तानले विकास निर्माणमा ढिला सुस्ती अन्त्य गरी चाँडो र गुणस्तरीय विकास निर्माण गर्न सबैलाई आग्रह गर्दै कर्मचारीलाई सक्रिय रहन समेत निर्देशन दिएकी छन् । अनुगमन टोलीमा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, आर्थिक मामिला मन्त्रालयका सचिव धनिराम शर्मा, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) बागमती प्रदेश कार्यालय हेटौंडाका निर्देशक टैलेन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो ।

