निमा डीसी
घोच्ने काँडे तारको के कुरा गर्नु
बिना सर्त हारको के कुरा गर्नु
जनतालाई ठुलोहतियार बनाएर
देश लुट्ने गद्दारको के कुरा गर्नु!!
उतारचढाव हो जीवन बराबर हुँदैन
चल्दाचल्दै ढल्न सक्छ भर हुँदैन
साउनको बग्ने भेल नभएमा तिमी
मलाई खडेरीमा बगर हुने डर हुँदैन ।
पाइलै पिच्छे धन चाहिने धन सबथोक रहेछ
जति खाएपनि नअघाउने कस्तो भोक रहेछ
म एकनास हेरिरहेको छु सुखदुःखको लडाइँ
दु:ख जित्न नसक्ने भाग्य पनि डरपोक रहेछ ।
कसैको भागमा सुन कसैको भागमा काँटा देखिन्छन्
सम्पत्ति रहेछ आत्मबल बढाउने गरीब लाटा देखिन्छन्
रातको निद्रा दिनको भोकले आराम लिन पाएन कहिल्यै
कोल्टे फर्की रुँदा रुँदा सिरानीमा कयौं टाटा देखिन्छन् ।
भैरहवा, रुपन्देही

